© २०२३
बुटवल ।
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा अध्ययन गरी सरकारी सेवामा कार्यरत चिकित्सकले निजी क्लिनिकमा काम गर्न थालेको भन्दै कडाइ गरेको छ । मन्त्रालयले बुधबार आफ्ना मातहतका सबै अस्पतालहरूलाई परिपत्र जारी गर्दै ‘सरकारी शिक्षण संस्थामा चिकित्साशास्त्र छात्रवृत्ति छनोट तथा छात्रवृत्ति प्राप्त विशेषज्ञ चिकित्सक परिचालन कार्यविधि, २०७२’ लाई कडाइका साथ पालना गर्न निर्देशन दिएको हो ।
उक्त कार्यविधिअनुसार सरकारी सेवामा रहेका विशेषज्ञ चिकित्सकले आफ्नो सेवा अवधिभर निजी रूपमा चिकित्सकीय सेवा दिन नपाउने प्रावधान रहेको मन्त्रालयले स्मरण गराएको छ । सो नियम उल्लङ्घन गर्ने चिकित्सकको लाइसेन्स निलम्बन गरिने चेतावनी समेत मन्त्रालयले दिएको छ ।
लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले सरकारको कार्यविधि विपरीत चिकित्सकहरूले निजी क्लिनिकमा समय दिन थालेको गुनासो बढेपछि सो नियम कडाइका साथ कार्यान्वयन गर्न निर्देशन गरिएको बताए । मन्त्री सारुले कुनै पनि सरकारी चिकित्सकले नियम उल्लङ्घन गरेमा मन्त्रालयले कठोर कानुनी कारबाही अघि बढाउने चेतावनी पनि दिएका छन् ।
