© २०२३
काठमाडौं ।
पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा सुरु भएको छ । न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासमा बुधबारदेखि थुनछेक बहस प्रारम्भ भएको हो ।
महराको तर्फबाट अधिवक्ता मुरारी सापकोटा र अधिवक्ता सोम भण्डारीले प्रारम्भिक बहस गरेका छन् । अधिवक्ता सापकोटाले महरालाई ‘भेप’ नामक ढुवानी सामग्रीमा सुन छ भन्ने केवल अनुमानको भरमा अभियोजन गरिएको दाबी गरेका छन् ।
उनले भने, “कति परिमाणमा सुन जफत भएको हो, त्यो अभियोगपत्रमा देखाइएको छैन । केवल अन्दाजको भरमा ‘९ केजी सुन भेपमा थियो होला’ भन्ने आधार लिइएको देखिन्छ । सुन तस्करीमा अभियोजन गर्दा कति सुन आएको थियो भन्ने प्रस्ट हुनुपर्छ ।”
सापकोटापछि अधिवक्ता सोम भण्डारीले बहस गर्दै मुद्दा दर्ता हुन वारदात स्पष्ट रुपमा स्थापित हुनुपर्ने जिकिर गरे । उनले भने, “अभियोजन गर्न सामग्री जफत हुनुपर्छ, जुन देखिँदैन । भेपमा सुन थियो भनेर कथा बुनेर मात्र मुद्दा दर्ता गरिएको छ ।”
उनले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनलाई प्रमाणको आधारमा लिन नहुने तर्क पनि गरे । महराको पक्षको प्रारम्भिक बहसपछि जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट तीन जना सरकारी वकिलले बहस गरेका थिए ।
सरकारी वकिल पक्षले जाँचबुझ आयोगको प्रतिवेदन र महराको कल डिटेललाई आधार मान्दै उनलाई हालै छुट दिन नहुने जिकिर गरेको छ ।
साथै, महरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको समाचार सार्वजनिक भइसकेको भन्दै उनी फरार हुन सक्ने सम्भावना देखिएकाले पक्राउ गर्नु परेको तर्क सरकारी वकिलले प्रस्तुत गरेका छन् ।
सरकारी पक्षको बहसपछि महराको तर्फबाट अधिवक्ता चन्द्र गुरागाईँले जवाफी बहस गर्दै महराविरुद्ध हचुवाको भरमा अभियोजन गरिएको दाबी गरे ।
“सुन तस्करीमा महरालाई किन अभियोजन गर्नु परेको हो भन्ने कुरा सरकारी वकिलले प्रस्ट राख्न सकेको देखिँदैन,” उनले भने, “मात्रै जाँचबुझ आयोगको प्रतिवेदन र अनुमानका आधारमा प्रतिवादी बनाइएको छ ।”
उनले महरालाई सामान्य तारेखमा रिहा गर्न माग गरे । गुरागाईँपछि वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले जवाफी बहस गर्दै महराको सुन तस्करीमा कुनै संलग्नता देखिँदैन भन्दै उनलाई सामान्य तारेखमा छाड्नुपर्ने जिकिर गरेका छन् ।