© २०२३
काठमाडौँ, २९ असोज ।
मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह जनस्वराज पार्टी (जस्वपा) मा सनाखत गर्न जाँदा झडप भएको छ ।
पूर्व मुख्यमन्त्री सिंहसहित जनमतकै पूर्व वनमन्त्री त्रिभुवन साह जनस्वराज पार्टीमा सनाखत गर्न जनकपुरस्थित निर्वाचन कार्यालय पुगेका थिए । त्यस क्रममा उनीहरूलाई रोक्न गएका जनमत पार्टीका नेता तथा कार्यकर्तासँग सामान्य झडप भएको जनाइएको छ ।
जनमतका कार्यकर्ताले सिंह चढेको गाडीमाथि आक्रमण प्रयास गरेका थिए । तर, सुरक्षाकर्मीहरूले समयमै गरेर गाडीमा तोडफोड हुनबाट जोगाएका थिए ।
यसअघि मंगलबार मात्र जनमत पार्टीका असन्तुष्ट नेताहरूले पार्टी फुटाएर नयाँ दल — जनस्वराज पार्टी गठन गरेका थिए । नवगठित पार्टीको अध्यक्षमा दिपककुमार साह रहेका छन् ।
साहलाई जनमत पार्टीले २२ साउनमा पार्टीको नीति विपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो । उनी जनमत पार्टीमा उपाध्यक्ष थिए ।
नवगठित जस्वपाका अन्य उपाध्यक्षहरूमा सुरज सिंह, सुरेन्द्र नारायण यादव र शम्भुनाथ साह छन् । निर्वाचन आयोगले मंगलबार बसेको बैठकबाट जनस्वराज पार्टीलाई दलको मान्यता दिइसकेको छ ।