Butwal Today

राप्रपामा विवाद झन् चर्किंदै, दुई महामन्त्रीद्वारा बैठक बहिस्कार

२९ आश्विन २०८२, बुधबार
अ+
अ-

काठमान्डौ, असोज २९ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का दुई महामन्त्री धवलशमशेर राणा र कुन्ती कुमारी शाहीले बुधबार बिहान बोलाइएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बहिष्कार गरेका छन् ।

महामन्त्रीद्वयले पार्टीभित्रको चार बुँदे माग अघि सार्दै बैठकमा सहभागी नभएको जानकारी प्राप्त भएको छ । उनीहरूको मागमा विधानअनुसार महाधिवेशनको मिति तोक्नुपर्ने, विधानविपरीत भएका निष्कासन र कारबाहीसम्बन्धी निर्णय फिर्ता लिनुपर्ने, निर्वाचन समिति तथा पर्यवेक्षक टोलीमा सन्तुलन कायम गर्नुपर्ने, र प्रभावकारी पार्टी सञ्चालनका लागि दुई पूर्वअध्यक्षसमेत रहेका समाधान समिति गठन गर्नुपर्ने समावेश छ ।

महामन्त्रीद्वयले अध्यक्षलाई पत्रमार्फत आफ्नो निर्णय जानकारी गराउँदै बैठक बहिष्कार गरेका हुन्, एक पार्टी नेताले पुष्टि गरेका छन् ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार, बैठकको एजेण्डामा पार्टीको धारणा तय गर्नुका साथै स्थानीय तह र जिल्ला अधिवेशनहरूको प्रगति समीक्षा गर्ने विषय राखिएको थियो । साथै, साङ्गठनिक सुदृढीकरण र समसामयिक तथा पार्टी जीवनसँग सम्बन्धित विविध विषयमा पनि छलफल गर्ने तयारी गरिएको थियो ।

पार्टी भित्रको यो विवादले आगामी महाधिवेशन र संगठनात्मक निर्णयमा थप राजनीतिक संवेदनशीलता सिर्जना गरेको छ ।