© २०२३
काठमान्डौ, २९ असोज ।
बेलायत सरकारले आफ्नो देशमा प्रवेश गर्ने आप्रवासीका लागि नयाँ र कडा भिसा नियमहरू लागू गर्ने तयारी गरेको छ । सरकारका अनुसार, आगामी नियमअन्तर्गत केही आप्रवासीका लागि अंग्रेजी भाषामा ‘ए–लेभल’ (उच्च माध्यमिक स्तर) को दक्षता अनिवार्य हुने भएको छ ।
बीबीसीका अनुसार, सन् २०२६ जनवरी ८ देखि लागू हुने यी नियमहरू ‘स्किल्ड वर्कर’ र ‘स्केल–अप’ भिसाका आवेदनदातासहित केही ग्र्याजुएट आवेदकहरूमा पनि लागू हुनेछन् ।
बेलायती सरकारले आप्रवासन घटाउने दीर्घकालीन योजनाअन्तर्गत यी नियम ल्याउन लागेको हो । यस योजनाको विस्तृत रूप यस वर्षको मे महिनामा सार्वजनिक गरिएको श्वेतपत्रमार्फत प्रस्तुत गरिएको थियो ।
गृह मन्त्री शबाना महमूदले नयाँ नीति सार्वजनिक गर्दै भनिन्, “यदि तपाईं बेलायत आउनुहुन्छ भने तपाईंले हाम्रो भाषा सिक्नुपर्छ र समाजमा योगदान दिन सक्षम हुनुपर्छ ।”
उनले थपेकी थिइन्, “यो देश सधैं योगदान दिन आउने व्यक्तिहरूको स्वागत गर्दछ । तर भाषा सिक्ने इच्छाशक्ति र समाजमा घुलमिल हुने क्षमताविना यहाँ आउने प्रवृत्ति अब स्वीकार्य छैन ।”
सरकारका अनुसार, भाषा दक्षता लगायतका नयाँ मापदण्डहरूले बेलायतको श्रम बजारमा योग्य र सक्षम जनशक्ति आकर्षित गर्ने लक्ष्य लिएका छन्, साथै अनावश्यक आप्रवासन नियन्त्रणमा पनि मद्दत गर्ने अपेक्षा गरिएको छ ।