© २०२३
‘हाम्रो भविष्य हाम्रै हातमा छ, सबै मिलेर अघि बढौँ’ भन्ने नाराका साथ आज विश्व हात धुने दिवस मनाईदैछ । हरेक वर्ष अक्टोबर १५ को दिनमा यो दिवस मनाउने गरिन्छ । जस अनुसार नेपालमा पनि आज यो दिवस मनाईदैछ ।
विश्व हात धुने दिवस सुन्दा सामान्य लाग्छ तर यो दिवसको नाराले दिएको सन्देशले विश्वलाई प्रभावित गरेको छ । हाम्रो भविष्य हाम्रै हातमा छ । निश्चित रूपमा हरेक कोहीको भविष्य हातमै अडेको छ । हातै भएन भने भविष्य अन्धकार हुन्छ । असफल हुन्छ ।
दिवसले भनेजस्तै हातमा त्यति शक्ति छ । तसर्थ हात सफा राख्ने कुरामा गम्भीर बनौँ । हात स्वास्थ्य नहुँदा मानिस अनेकौँ रोगको सिकार बनेको अवस्था छ । तसर्थ शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना बनाउनु, खाना खानु र खुवाउनुअघि, अनुहार, नाक, मुख, आँखा छोइसकेपछि, बाहिरबाट घर फर्किएपछि साबुन पानीले नियमित हात धुने गरौँ ।
चिकित्सकहरूले साबुन पानीले मिची मिची हात धुने बानीले श्वास प्रश्वासजन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने जनाएका छन् । यही चेतना अभिवृद्धि गर्न यो दिवस मनाइन्छ ।
नेपालमा सन् २००८ देखि सुरु भएको विश्व हात धुने दिवसलाई केवल औपचारिक नबनाऔँ । हात सफाइको महत्त्व सबैलाई बुझाउन सक्ने हो भने करिब ८० प्रतिशत रोग निर्मूल गर्न सकिन्छ ।
आजको स्वच्छ समाज र स्वस्थ जीवनका लागि हात धुने दिवसको पनि महत्त्वपूर्ण अर्थ छ । हरेक व्यक्तिले आफ्नो दिनचर्यामा नियमित रूपमा हात धुने कार्यलाई समावेश गर्नु आवश्यक छ ।
हात सफा नभएका कारण विश्वभरि नै विभिन्न सङ्क्रामक रोगहरूले लाखौँको ज्यान लिने गरेको छ । झनै कोरोना महामारीपछि बल्ल यो दिवसका अझै महत्त्व बढेको हो । कोरोना सङ्क्रमणबाट बच्न बेला बेलामा साबुन पानीले मिची मिची हात धोइरहनुपर्ने विज्ञहरूको सुझाव थियो ।
अतः हात धुने कुरालाई सामान्य मात्रै नबनाऔँ, यो नियमित प्रक्रिया हो तर यसको महत्त्व कति छ भन्ने कुरा रोग लागेपछि मात्रै थाहा हुन्छ । रोग लाग्न दिने अवस्था ननिम्त्याऔँ । त्यसका लागि सतर्कता र सचेतताको आवश्यकता छ ।
नियमपूर्वक साबुन पानीले हात धोएमा कोरोना भाइरस लगायत विभिन्न रोगहरूबाट बच्न सकिने विभिन्न अध्ययनले पुष्टि गरेको छ । विश्वमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभावमा ५ वर्ष मुनिका १४ लाख बालबालिकाको झाडापखाला र निमोनिया जस्ता रोगका कारण मृत्यु हुने गरेको छ ।
हात धुने बानीलाई नियमित गराउन सके करोडौँको सङ्ख्यामा जीवन बचाउन सकिन्छ । तसर्थ खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग गरेपछि र अन्य आवश्यक अवस्थामा बच्चैदेखि हात धुने बानी बसाल्न जरुरी छ ।
विभिन्न महामारीबाट बच्न विभिन्न वस्तु छुना साथ वा बिरामीको स्याहार तथा अन्य व्यक्तिको सम्पर्कबाट छुट्ने बित्तिकै हात धुने बानी बसालौँ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन ।
अतः चिकित्सकहरूको सल्लाह र सुझावलाई आत्मसाथ गरे मात्रै पनि रोगबाट बच्न सकिने भएकोले लापरबाही नगरौँ भन्ने हो । विश्व स्वास्थ्य सङ्गठनले शौचालयको प्रयोग गरिसकेपछि, खाना खानुअघि, बिरामी वा बच्चाको स्याहार सुरक्षा गर्नु अघि, बिरामीको दिसा धोएपछि, कुनै पनि फोहोर कुरा वा विषादी छोइसकेपछि अनिवार्य रूपमा साबुन पानीले हात धुन आग्रह गरेको छ ।
यति गर्न सक्ने हो भने करिब करिब ९० प्रतिशत रोगको सिकार हुनुपर्दैन । अतः यो वर्षको नाराले भनेजस्तै साबुन पानीले हात धुने बानी बसाल्नु जरुरी छ । तपाई हामीले आफ्नो भविष्य कस्तो बनाउने भन्ने कुरा हाम्रै हातमा निर्भर रहेको विश्व हात धुने दिवसको महत्वको विषयमा सबैलाई जानकारी गराऔँ ।