© २०२३
काठमाडौं, २८ असोज ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिको संख्या ५४ प्रतिशत नाघेको छ । कांग्रेसको १४औँ महाधिवेशनमा कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि रहेका थिए ।
१३औँ महाधिवेशनबाट स्वतः प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी परित्याग गरेका तथा मृत्युभएका प्रतिनिधिहरू घटाउँदा हाल कायम प्रतिनिधिको संख्या ४,५५६ रहेको छ ।
तीमध्ये २,४८७ जना प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् । यो संख्या कुल कायम प्रतिनिधिको ५४.५८ प्रतिशत हो । संकलित हस्ताक्षरहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय कार्यालयमा बुझाउने तयारी गरिएको छ ।
विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन महासचिव गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा गरिएको हो । दुई महासचिवको तर्क छ यदि मंसिरभित्र नियमित महाधिवेशन हुन नसक्ने स्थिति आयो भने कांग्रेसले विशेष महाधिवेशन आव्हान गर्नैपर्छ ।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।