© २०२३
सल्यान, २८ असोज ।
सल्यानमा स्क्रब टाइफसका बिरामीहरूको सङ्ख्या तीव्र रूपमा बढ्दै गएपछि र केहीको मृत्यु समेत भैसकेको भन्दै स्वास्थ्य सेवा कार्यालयले स्थानीय तहहरूलाई जनचेतनामूलक कार्यक्रम सञ्चालनका लागि पत्राचार गरेको छ ।
रोगको नियन्त्रण तथा रोकथामका लागि तत्काल प्रभावकारी जनचेतनामूलक गतिविधिहरू सञ्चालन गर्नु अत्यावश्यक देखिएको भन्दै पालिका मातहतका स्वास्थ्य संस्था एवं स्वास्थ्य सञ्जालमार्फत सचेतनाका क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको हो ।
स्थानीय तहका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविका लगायत समुदायमा पहुँच भएका सबै स्वास्थ्य सञ्जालमार्फत स्क्रब टाइफसको जोखिम, लक्षण र रोकथाम सम्बन्धी व्यापक जनचेतनामूलक कार्यक्रम समुदाय स्तरमा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुनकुमार बुढाले अनुरोध गरेका हुन् ।
सल्यान अस्पतालमा मात्रै साउन महिनादेखि अहिलेसम्म ७७ जना बिरामीमा स्क्रब टाइफसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । तीमध्ये ८ जना बिरामीमा जटिल स्क्रब टाइफस भेटिएको छ ।
गम्भीर बिरामी दुई जनालाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएकोमा उपचारकै क्रममा मृत्यु भैसकेको छ ।
बागचौर नगरपालिका–१, कालाखेतका गजेन्द्र केसी र दार्मा गाउँपालिका–३, दुवाङ्गकी ४७ वर्षीया यनकुमारी खत्रीको मृत्यु भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. बुढाका अनुसार गजेन्द्रलाई सुरुमा जिउ दुख्ने र ज्वरो आउने समस्या देखिएपछि बागचौरस्थित एक मेडिकलमा उपचार गरिएको थियो ।
तर औषधि सेवन गरेपछि पनि उच्च ज्वरो नघटेकाले र श्वास प्रश्वासमा समस्या देखिएपछि जिल्ला अस्पताल सल्यान ल्याइएको थियो ।
लक्षणअनुसार परीक्षण गर्दा स्क्रब टाइफस पुष्टि भएको र ल्याएको केही समयमै अवस्था गम्भीर भएपछि उनलाई नेपालगन्ज रिफर गरिएको थियो । त्यहाँ उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
यस रोगका लक्षणहरू उच्च ज्वरो, टाउको दुखे, शरीरमा दाना वा घाउ, कमजोरी, आदि देखिनासाथ नजिकको स्वास्थ्य संस्था वा सल्यान अस्पतालमा तुरुन्त सम्पर्क गर्नका लागि समुदायलाई जानकारी गराउन आग्रह गरिएको छ ।
स्क्रब टाइफस परीक्षण सेवा उपलब्ध हुने स्वास्थ्य संस्थामा बिरामीलाई शीघ्र सिफारिस र रिफर गर्ने प्रक्रिया सहज बनाउन पनि स्थानीय तहहरूलाई स्वास्थ्य सेवा कार्यालयको आग्रह छ ।
समुदायमा माइट नियन्त्रणका उपायहरू घर वरिपरिको सरसफाइ, झाडी नियन्त्रणको सन्देश प्रवाह गर्न आग्रह गरिएको छ ।
डाक्टर बुढाका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ । माइट प्रायजसो झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाउँमा देखिने गरेको डाक्टर बुढाको भनाई छ ।
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने र यो रोग मानिसबाट मानिसमा भने नसर्ने उनले जनाए ।
खेतबारीमा काम गर्दा, वनजंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा साथै सम्भव भुईँ सम्म बुट लगाउन स्वास्थ्यकर्मीहरूको सुझाव छ ।
सम्भव भएसम्म भुईँमा नबस्न, खाटमा वा अग्लो स्थानमा सुत्न, मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्न, मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्न, स्क्रब टाइफस लागेको शङ्का लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजान आग्रह गर्दै स्वास्थ्य सेवा कार्यालयले औषधी सेवनपछि यो रोग निको जनाएको छ ।