सैनामैना, २८ असोज ।
रुपन्देहीको सैनामैनामा विद्यालय स्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।
सैनामैना नगरपालिका–१०, सालझण्डीस्थित श्री पशुपति माध्यमिक विद्यालयमा मंगलबार विद्यालयस्तरीय कृत्रिम घटना अभ्यास कार्यक्रम सम्पन्न भएको छ।
नेपाल रेडक्रस सोसाइटीको शहरी पूर्वतयारी तथा आपतकालीन प्रतिकार्य प्रवर्द्धन परियोजना अन्तर्गत आयोजित सो कार्यक्रममा भूकम्प र आगलागीका सम्भावित परिस्थितिमा कसरी सुरक्षित रहन सकिन्छ भन्ने विषयमा व्यावहारिक अभ्यास गराइएको थियो।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले भूकम्प तथा आगलागी जस्ता आपतकालीन अवस्थामा अपनाउनुपर्ने सावधानी, उद्धार प्रक्रिया, र सरोकारवाला निकायहरूलाई सूचित गर्ने तरिकाबारे नमुना प्रदर्शन गरेका थिए।
कार्यक्रमअघि रेडक्रसका सहजकर्ता डिल्लीराज जोशीले विद्यार्थीहरूलाई विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो।
अभ्यासको क्रममा भूकम्प र आगलागी जस्ता विपद् बेला अपनाउनुपर्ने तत्कालीन कदम, आगलागी नियन्त्रणका प्रारम्भिक उपाय, आगोको प्रकार पहिचान गर्ने तरिका, र नजिकै उपलब्ध सामग्रीको प्रयोगद्वारा प्रारम्भिक नियन्त्रणबारे जानकारी दिइएको थियो।
यस्तै, रेडक्रसले विपद् बेला प्राथमिक उपचार, सुरक्षित आवासको व्यवस्था, शिक्षा क्षेत्रमा पर्न सक्ने प्रभाव, तथा उद्धार कार्यमा सुरक्षा निकायको भूमिकाबारे पनि जानकारी प्रदान गरेको थियो।
कार्यक्रम पश्चात आयोजित समीक्षा सत्रमा विद्यार्थीहरूले प्रदर्शनका क्रममा देखाएका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षबारे रेडक्रसका पदाधिकारीहरूले सुझाव दिएका थिए।
विद्यालयका शिक्षक नायक केशव ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, रेडक्रसका पदाधिकारी, स्वयम्सेवक व्युरोका सदस्यहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।