© २०२३
लमही, २८ असोज ।
दाङको दक्षिणी भेगमा पर्ने कालाकाटे–सिक्टा हुलाकी मार्गको छेउमा एउटा यस्तो गाउँ छ, जहाँ माछा मासु र रक्सीको नामसम्म लिने चलन छैन । करिब ६७ घरधुरी र करिब चार सय जनसङ्ख्या भएको राजपुर गाउँपालिका–३ अन्तर्गतको प्रतापपुर गाउँ आज पनि पूर्ण रूपमा सात्त्विक जीवनशैलीमा अडिग छ ।
गाउँका अधिकांश बासिन्दा यादव समुदायका छन् । परापूर्व कालदेखि नै हिन्दु धर्म र सात्त्विक परम्परामा गहिरो आस्था राख्ने उनीहरूले आजसम्म पनि माछा मासु र मदिराजन्य पदार्थ सेवन नगर्ने परम्परा जीवितै राखेका छन् । उनीहरू पशुपक्षीको वध गर्नु पाप हो भन्दै आएका छन् ।
प्रतापपुरका स्थानीय द्वारिकाप्रसाद यादवका अनुसार उनीहरूको समुदायमा पशुपक्षीको हत्या गर्नु पाप मानिन्छ । उनले भने, “हामी सात्त्विक भोजनमा विश्वास गर्छौँ, पशुपक्षीको हत्या गर्नु मानव धर्म विपरीत हो ।”
सामाजिक नियमअनुसार गाउँमा कसैले पनि माछा, मासु नखाने मात्र होइन, त्यसका लागि प्रयोग हुने बाख्रा, कुखुरा, हाँस, सुँगुरजस्ता जनावरसमेत पाल्ने चलन छैन ।
मासुजन्य खानेकुराको विकल्पका रूपमा यादव समुदायले दही, दूध, घिउ र मिठाई खाने गर्छन् । त्यसैले गाउँका अधिकांश घरमा भैंसीपालन अनिवार्य जस्तै बनेको छ । यसले शुद्धता र परम्पराको निरन्तरता दिँदै आएको छ ।
प्रतापपुरका महिलाहरू पनि यस जीवनशैलीमा गर्व गर्छन् । स्थानीय विनीता यादव भन्छिन्, “मासुबाट पाइने प्रोटिन हामी दाल, गेडागुडी, दूध, दही र फलफूलबाट पाउँछौँ । हाम्रो घरमा दही र घिउ अनिवार्य हुन्छ ।”
दसैँ–तिहार वा विवाह भोजका बेला पनि सो समुदायका घरमा मासुका सट्टा दही, दूधका परिकार र फलफूल नै परोसीन्छ । “हाम्रो संस्कृति यस्तो छ कि बच्चाहरूले पनि कहिल्यै मासु वा रक्सी खान सिक्दैनन्,” उनले गर्वका साथ भनिन् ।
मदिरा सेवन र बिक्रीमा पनि रोक लगाउँदै आएको यादहरू बताउँछन् । गाउँका अगुवा डिल्ली यादवका अनुसार धार्मिक आस्था र परम्पराले उनीहरूलाई सात्त्विक रहन प्रेरित गरेको हो । दुई वर्षअघि बिरामी हुँदा चिकित्सकले पौष्टिकता बढाउन माछा मासु वा अण्डा खान सुझाव दिए पनि उनले खान नसकेको सम्झना सुनाए ।
“सानैदेखि माछा मासु र मदिरा खानु हुँदैन भन्ने मान्यताले होला, अहिले त रहर नै लाग्दैन,” उनी हाँस्दै भन्छन् । प्रतापपुरमा मदिरा सेवन मात्र होइन, यसको बिक्री र वितरण पनि पूर्ण रूपमा निषेधित गरिएको छ ।
गाउँका अनुसार, “हाम्रो गाउँमा मदिरा बिक्री गर्न पाइँदैन । यस्तो भेटिए तुरुन्तै गाउँले मिलेर रोक लगाउँछौँ ।” उनीहरूको रहन सहनले यो गाउँलाई सात्त्विक गाउँको पहिचान गराएको छ ।
यादव समुदायको धार्मिक आस्था, संस्कार र अनुशासनले प्रतापपुरलाई अहिले ‘सात्त्विक गाउँको रूपमा चिनाएको छ । यहाँका बासिन्दा भन्छन् “हामीले परम्परा मात्र जोगाएका होइनौँ, यही जीवनशैलीले हाम्रो गाउँलाई शान्त, स्वस्थ र सद्भावपूर्ण बनाएको छ ।”
६५ घर संख्या र ५ सयको हस्राहारीमा जनसङ्ख्या रहेको सो गाउँको मुख्य पेसा भैंसीपालन र खेतीपाती हो ।उनीहरूले व्यवहारिक रूपमा भैँसी पालन गरी उत्पादन भएको दूध, दही, घिउ जिल्लाका ठुलो बजार बिक्री वितरण गरी जीविका चलाउँदै आएका छन् ।