© २०२३
काठमान्डौ, २८ असोज ।
नेपाल वायुसेवा निगम (एनएसी) लाई तीन भागमा विभाजन गर्ने तयारी गरिएको छ । पूर्ववर्ती सरकारले गठन गरेको नागरिक उड्डयन क्षेत्र सुधारका लागि सुझाव समितिको प्रतिवेदनअनुसार निगमका फरक–फरक जिम्मेवारीलाई अलग–अलग कम्पनीमार्फत सञ्चालन गर्ने सिफारिस गरिएको हो ।
असोज १२ गते समितिले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो । हालैको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
सिफारिसअनुसार अब तीन कम्पनी रहनेछन् जसमा, नेपाल वायुसेवा निगम, नेपाल एयरलाइन्स कम्पनी, र नेपाल उड्डयन सेवा प्रदायक कम्पनी रहनेछन् ।
नेपाल वायुसेवा निगमले आन्तरिक उडान, नेपाल एयरलाइन्स कम्पनीले अन्तर्राष्ट्रिय उडान, र नेपाल उड्डयन सेवा प्रदायक कम्पनीले ग्राउन्ड ह्यान्डलिङ सेवाको जिम्मेवारी लिनेछ ।
समितिले ती कम्पनीहरूको पूँजी ३०० गुणा वृद्धि गरी हालको १६ करोड रुपैयाँबाट ५० अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पनि गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी समेत सम्हाल्दै आएकी तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रालयका अधिकारीहरूसँग छलफल गर्दै प्रतिवेदन कार्यान्वयन तत्काल सुरु गर्न निर्देशन दिएकी थिइन् ।
समग्र हवाई उड्डयन क्षेत्र सुधारका लागि तयार गरिएको प्रतिवेदनका सुझावहरू क्रमशः लागू गरिने मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।