© २०२३
काठमाडौँ ।
मंगलबार दिउँसो त्रिपुरेश्वर हुँदै पार्टी कार्यालय सानेपा जान लागेको नेपाली कांग्रेस सम्बद्ध युवाहरूको मोटरसाइकल र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ । त्रिपुरेश्वरमा र्याली रोकेर प्रहरीले झण्डा समेत खोसेको हो ।
प्रहरीले त्यहाँबाट र्यालीलाई अघि बढ्न अनुमति दिएको छैन । ‘नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यक्रम छ । र्याली बीचमा आएको देखेपछि हामीले त्यहाँ होल्ड गरेका छौं । हामीलाई जानकारी थिएन । एकीन भइसकेपछि उहाँहरू आ–आफ्नो ठाउँमा जानुहुन्छ,’ जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले भने ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको केन्द्रीय कार्यालय सानेपामा आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।
जेनजी विद्रोहपछिको यो बैठक विशेष मानिएको छ, जहाँ सभापति शेरबहादुर देउवा पहिलोपटक सार्वजनिक रूपमा देखिन लागेका छन् । भदौ २४ गते आन्दोलनकारीहरूले देउवाको बूढानीलकण्ठस्थित निवासमा आगजनी गर्नुका साथै देउवा र उनकी श्रीमती आरजु राणामाथि निर्घात कुटपिट गरेका थिए ।
घाइते देउवा अहिले स्वास्थ्यलाभ गरिरहेका छन् । आजको बैठकमा उनले उद्घाटन मन्तव्य दिने र त्यसपछि बाहिरिने कार्यक्रम रहेको छ ।
बैठकअघि काठमाडौँका विभिन्न क्षेत्रबाट सानो संख्यामा तरुण दलले मोटरसाइकल र्याली निकालेका थिए । उक्त र्यालीलाई प्रहरीले त्रिपुरेश्वरमा रोकेको हो ।
केन्द्रीय समितिको यस बैठकले पार्टीको महाधिवेशन नियमित समयमा गर्ने कि विशेष महाधिवेशन बोलाउने भन्नेबारे टुंगो लगाउने अपेक्षा गरिएको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको पक्षमा छन् भने देउवा पक्ष नियमित महाधिवेशनमा जोड दिइरहेको छ । यद्यपि यसबारे ठोस धारणा अझै बनेको छैन ।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र देउवाको विकल्प खोज्ने र नयाँ नेतृत्वको माग बढ्दो छ । यही कारणले पनि यसपटकको केन्द्रीय समिति बैठकलाई अत्यन्तै महत्वपूर्ण मानिएको छ ।