© २०२३
काठमान्डौ, २८ असोज ।
पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध दायर सुन तस्करी सम्बन्धी मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । काठमाडौँ जिल्ला अदालतमा बहस अघि महराको बयान लिइने छ ।
२०७९ पुस १० गते चिनियाँ नागरिक लि हासोङले इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुन तस्करी प्रकरणमा महरालाई प्रतिवादी बनाइएको हो । अनुसन्धानका क्रममा महरा चिनियाँ नागरिक दाओजिन वाङसँगको सम्पर्कमा रहेका र सोही माध्यमबाट तस्करीमा संलग्न देखिएको सिआइबीको निष्कर्ष छ ।
सरकारी वकिल र सिआइबी अनुसन्धान अधिकृतहरूसँगको बयानमा महराले वाङसँगको परिचय स्विकारेका छन् । उनले सञ्चारमन्त्री भएको बेला वाङ फलफूलका साथ बधाई दिन आएको र त्यही बेला चिनेको बताएका छन् । ‘म सञ्चारमन्त्री हुँदा वाङ भेट्न आएका थिए । उनी फलफूल व्यापारी भएको बताए, त्यसपछि कुनै व्यापारिक सम्पर्क रहेन,’ महराले बयानमा भनेका छन् ।
तर, सिआइबीका अनुसार वाङले चीनबाट सुन ‘भेप’का खोलभित्र लुकाएर पठाएका थिए । सो सामान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएपछि महराले तत्कालीन भन्सार प्रमुखलाई फोन गरी छुटाउन दबाब दिएको आरोप छ ।
महराले भने, ‘सामान वैध वा अवैध के हो भनेर हेरी कानुनअनुसार गर्न भनिएको मात्र हो ।’ उनले भेप प्रकरणमा आफ्नो लगानी वा संलग्नता पूर्ण रूपमा अस्वीकार गरेका छन् ।
सरकारी वकिल कार्यालयले महराविरुद्ध सङ्गठित अपराध निवारण ऐन र भन्सार ऐन अन्तर्गत मुद्दा दायर गर्दै ८ करोड ५५ लाख २८ हजार रुपैयाँ बिगो मागदाबी गरेको छ ।
वाङ हाल फरार छन् भने अदालतमा आजदेखि महराको थुनछेक बहस प्रारम्भ हुनेछ ।