© २०२३
काठमान्डौ, २८ असोज ।
अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले गिरिबन्धु टी–स्टेटको जग्गा प्रकरणलगायत विवादास्पद मुद्दामा उजुरी दिन आह्वान गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पीडितले औपचारिक उजुरी दिए मात्र राज्य संयन्त्रले कानुनी प्रक्रिया अघि बढाउने स्पष्ट पारे ।
“मन्त्री आफैं उजुरी हाल्दै हिँड्दैन,” उनले भने, “राज्य संयन्त्र उजुरी, प्रमाण र कानुनका आधारमा मात्रै काम गर्छ । देश अब आदेशले होइन, कानुनले चल्छ ।”
उनका अनुसार सरकार कानुन कार्यान्वयनमा पूर्ण प्रतिबद्ध छ र कुनै पनि राजनीतिक वा व्यक्तिगत हस्तक्षेप स्वीकार्य हुने छैन ।
गृहमन्त्रीले गिरिबन्धु टी–स्टेटसहितका प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग वा प्रहरी प्रशासनमार्फत उजुरी दिनुपर्नेमा जोड दिए । उनका अनुसार पीडितले देखेका वा भोगेका घटनाको प्रमाणसहित उजुरी आए मात्रै अनुसन्धान सुरु गर्न सकिन्छ ।
यसै क्रममा गृहमन्त्री अर्यालले तोकिएको समयमा नै निर्वाचन सम्पन्न हुने दाबी पनि गरे ।