© २०२३
काठमान्डौ, २८ असोज ।
नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको छ, जुन सोमबारको तुलनामा ८ हजार १०० रुपैयाँले बढी हो ।
सोमबार सुनको मूल्य तोलामा २ लाख ४० हजार ४०० रुपैयाँ थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर वृद्धि भएकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा परेको महासंघले जनाएको छ ।
सुनसँगै चाँदीको मूल्य पनि नयाँ उच्चतम स्तरमा पुगेको छ । सोमबार तोलामा ३ हजार २२० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।