Butwal Today

पहिलोपटक श्रीचौरमा थ्रीफेज पावरसहितको विद्युत पुग्यो

२८ आश्विन २०८२, मंगलवार
अ+
अ-
सल्यान, २८ असोज ।
श्रीचौर गाउँमा विद्युत विस्तार भएर पहिलोपटक बत्ति बलेसंगै सल्यान त्रिवेणी गाउँपालिकाको ६ नम्बर वडामा विद्युतीकरणको काम पुरा भएको छ । सोमबार श्रीचौर गाउँमा थ्रीफेज पावरसहितको बत्ती बाल्न सकिएको वडा अध्यक्ष मनोजजंग शाहले जानकारी दिए । साविकको वडा नम्बर ८ पहिलो पटक विद्युत पुगेपछि स्थानीयहरु हर्षित भएका छन् ।
सबै सरोकारवालाको अथक प्रयास र सहकार्यमा विद्युतीकरण सम्पन्न भएको भन्दै वडा अध्यक्ष शाहले श्रीचौर गाउँका करिव ६० घरपरिवार विद्युतबाट लाभान्वित भएको जानकारी दिए । यसअघि यहाँका बासिन्दाले लामो समयदेखि बिजुली अभावका कारण दैनिक जीवन र उत्पादनशील गतिविधिमा समस्या भोग्दै आएका थिए । “हाम्रो वडामा विदुत नपुगेको यही एउटा गाउँ मात्रै थियो । अब गाउँमा आर्थिक र सामाजिक विकासका नयाँ सम्भावना खुलेका छन्”, शाहले भने ।
नेपाल विदुत प्राधिकरण सल्यान वितरण केन्द्र अन्तर्गत ११ के.भि. लाईन विस्तार भएको हो । विद्युत प्राधिकरण तथा सामुदायीक विद्युतीकरणको लगानीमा विद्युत पुगेपछि गाउँमा खुसी छाएको स्थानीय राजन खड्काले जनाए । यस अघि टु फेज पावरको विद्युत विस्तार गर्ने भनिएकोमा स्थानीयहरुले थ्रीफेज पावरसहितको विद्युत माग गरेपछि केही समय विद्युतीकरणमा ढिलाई हुन पुगेको थियो । स्थानीयको माग तथा वडा कार्यालयको पहलपछि थ्रीफेज पावरसहितको विद्युत विस्तार गरेर गत असोज २२ गते लाईन चार्ज गरिएको थियो ।