© २०२३
कपिलवस्तु, २८ असोज ।
भन्सार छली गरी अवैध रूपमा सामान निकासी–पैठारी गर्न खोज्ने दुई फरक घटनामा प्रहरीले ठूलो परिमाणमा सामान बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले असोज २६ गते दिउँसो करिब २ बजेर ३५ मिनेटमा कृष्णनगर नगरपालिका–२ यात्रुगेट नजिकै नेपालबाट भारततर्फ लैजाने क्रममा वेवारिसे अवस्थामा छाडिएका करिब रु. १ लाख ८५ हजार २५० बराबरका ७४१ के.जी. किवी फल बरामद गरेको हो। बरामद गरिएका ती फल आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कृष्णनगर बुझाइएको प्रहरीले जनाएको छ।
त्यसैगरी, असोज २८ गते बिहान करिब ७ बजेर १० मिनेटमा कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–४ गौरा स्थित भित्री सडक खण्डमा प्रहरी टोलीले ना २ ख ९५५२ नम्बरको ट्रक रोकि जाँच गर्दा बिल–बिजक विना करिब रु. ३ लाख १५ हजार १५० बराबरका ५ हजार ७३० के.जी. पुरानो प्लास्टिकका टुक्रा (कवाड) फेला परेको छ।
सो ट्रकको मूल्य करिब रु. १२ लाख रहेको र ट्रकसहित कुल मूल्य रु. १५ लाख १५ हजार १५० हुने बताइएको छ। उक्त ट्रकका चालक, रुपन्देहीको मायादेवी गाउँपालिका–६ बस्ने ४१ वर्षीय सुग्रिम केवटलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, सीमावर्ती क्षेत्रमा भन्सार छली तथा अवैध सामान पैठारीका विरुद्ध अभियानलाई अझ सशक्त बनाइएको छ।