© २०२३
गुल्मी, २८ असोज ।
जिल्ला प्रशासन कार्यालय गुल्मीमा यतिबेला अत्यधिक मात्रामा सेवाग्राहीहरूको चाप बढेको छ । दसैँपछि कार्यालयमा विभिन्न सेवा लिन आउने सेवाग्राहीहरूको चाप दिनहुँ बढ्दै गएको हो ।
अधिकांश मानिसहरू चाडबाडको समयमा घर आएको मौका छोपेर नागरिकता, राहदानी र राष्ट्रिय परिचय पत्र बनाउन प्रशासन कार्यालय आउने गर्दछन् । जसका कारण यो अवधिमा कार्यालयमा अत्यधिक मात्रामा सेवाग्राहीको चाप हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले बताएका छन् ।
एक सातादेखि जिल्ला प्रशासन कार्यालयमा यसरी सेवाग्राहीहरूको चाप बढेपछि सेवा दिने सेवा प्रदायक कार्यालयलाई पनि सेवाग्राहीहरूको भिडलाई व्यवस्थापन गर्न मुस्किल परेको छ ।
कार्यालयमा सेवाग्राहीहरूको बाक्लो उपस्थिति भएपछि कार्यालयले भिडलाई व्यवस्थापन गर्दै राती अबेरसम्म नागरिकहरूलाई सेवा प्रवाह गर्दै आएको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए । उनले आफूले नागरिकहरूलाई कसरी छिटो भन्दा छिटो सेवा प्रवाह गर्न सकिन्छ भन्नेमा लागिरहेको बताए ।
कार्यालयमा कर्मचारीहरूको अभाव भएपछि प्रशासनले जिल्ला समन्वय समिति, डिभिजन वन कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र मालपोत कार्यालयबाट थप कर्मचारी झिकाएर सेवा प्रवाह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।
नागरिकको सेवालाई सहज र सरल बनाउन प्रमुख जिल्ला अधिकारी कोइराला र सहायक प्रमुख जिल्ला अधिकारी गैरे नागरिकता र राष्ट्रिय परिचयपत्रको फाँटमै बसेर सेवाग्राहीहरूलाई दिनहुँ सहजीकरण गर्ने काममा आफै खटिरहेका हुन्छन् ।
कुनै पनि सेवाग्राहीहरूले अर्काको पालो नमिचुन् भनेर कार्यालयले राष्ट्रिय परिचय पत्र र राहदानीमा दिनहुँ टोकन प्रणाली लागु गरेको छ ।
कतिपय सेवाग्राहीहरू आफ्नो चाँडै पालो आवस भनेर अघिल्लो दिनमा नै सदरमुकाम तम्घास आएर बास बस्ने र बिहान छ बजे देखिनै लाइनमा बस्ने गर्दछन् ।
लाइनमा लामबद्ध भएर बस्दै गर्दा कतिपय अवस्थामा उक्त लाइन कार्यालयको गेटसम्म पुग्ने गर्दछ । कार्यालय परिशरमा देखिने मानिसहरूको बाक्लो उपस्थिति कुनै विवाह तथा उत्सवहरू भन्दा कम देखिँदैन ।
आफ्नो पालो चाडै लगाएर सबेरै घर फर्कने आसमा हातमा टोकन बोकेर घण्टौँसम्म मानिसहरू लाइनमा आफ्नो पालो पर्खिरहेका हुन्छन् । जिल्ला प्रशासन कार्यालय गुल्मीमा दैनिक सरदर तीन सय जना राष्ट्रिय परिचयपत्र बनाउने, एक सय ५० नयाँ नागरिकता बनाउने, एक सय जना राहदानी बनाउने र एक सय जनाले प्रतिलिपि नागरिकता लिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद गैरेले जानकारी दिएका छन् ।
त्यसका अतिरिक्त अन्य सिफारिस लिन आउनेहरूको सङ्ख्या पनि उत्तिकै रहेको गैरेले बताए । जिल्लाका अन्य सरकारी कार्यालयहरू मध्य जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको सबै भन्दा बढी चाँप हुने गर्दछ । यो भिडभाड तिहारपछि मात्र केही कमी हुने कार्यालयले जनाएको छ ।