© २०२३
काठमान्डौ, २८ असोज ।
नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग तीव्र बनेको छ । सोमबार साँझसम्म पार्टीका २ हजार ४३९ प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन् ।
१४औं महाधिवेशनका ४ हजार ७४३ प्रतिनिधिमध्ये आधाभन्दा बढीले हस्ताक्षर गरेको केन्द्रीय सदस्य मधु आचार्यले जानकारी दिए । उनका अनुसार सोमबार साँझ ७ बजेसम्म विदेशस्थित जनसम्पर्क समिति र विभिन्न जिल्लाबाट हस्ताक्षर प्राप्त भइसकेका छन् ।
“हालसम्म ५१ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरिसक्नुभएको छ,” आचार्यले बताए, “सूचीकृत गर्ने काम जारी छ, अन्तिममा करिब ५५ प्रतिशत प्रतिनिधिको समर्थन पुग्ने देखिन्छ ।” महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको सक्रियतामा हस्ताक्षर संकलन अभियान अघि बढाइएको हो । संकलित हस्ताक्षर मंगलबार पार्टी नेतृत्वलाई बुझाइने तयारी छ ।
मंगलबार (आज) दिउँसो १ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको छ । केन्द्रीय समिति बैठक अघि हस्ताक्षर पेश गरिने नेता आचार्यले जानकारी गराए । कांग्रेसको विधानअनुसार, कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित माग गरेमा तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ ।
नियमित महाधिवेशन मंसिरभित्र नहुने संकेतसँगै, महामन्त्री थापा र शर्माले पार्टीलाई विशेष महाधिवेशनमा लैजाने अभियानलाई तीव्र पारेका छन् ।