Butwal Today

टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेका तेन्जिङमाथि म्याद लिएर अनुसन्धान गरिँदै

२७ आश्विन २०८२, सोमबार
अ+
अ-

काठमान्डौ, २७ असोज ।

जेनजी आन्दोलनका क्रममा ‘फ्रि–तिब्बत’ लेखिएको टीओबी समूहको टिसर्ट लगाएर पेस्तोल बोकेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

आइतबार साँझ प्रहरीले तेन्जिङ दावालाई पक्राउ गरेको हो । आफूमाथि अनुसन्धान भइरहेको थाहा पाएपछि उनले पेस्तोलबारे ‘स्पष्टीकरण’ दिन उपत्यका प्रहरी कार्यालयमा पुगेका थिए । त्यहाँबाट उनलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए ।

‘उनीमाथि अनुसन्धान जारी छ,’ भट्टराईले भने, ‘न्यायिक अनुमति लिएर थप विवरण संकलनको प्रक्रिया अघि बढाइएको छ ।’

दावाले लगाएको ‘टीओबी’ टिसर्टबारे समेत प्रहरीको चासो बढेको छ । कतिपयले ‘टीओबी’ लाई बुलेट बाइकर्सहरूको समूह भनेर दाबी गरिरहेका छन् भने केहीले यसलाई ‘फ्रि–तिब्बत’ अभियानसँग जोडिएको बताइरहेका छन् ।

प्रहरीले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा टीओबी समूह कसरी योजनाबद्ध रूपमा सक्रिय भयो भन्ने विषयमा पनि अनुसन्धान अघि बढाएको जनाएको छ ।