© २०२३
काठमाडौँ ।
भदौ २४ गते नेपालभरि भएका आगजनीका घटनाहरू योजनाबद्ध र संगठित रूपमा गरिएका हुनसक्ने अमेरिकी पत्रिका न्युयोर्क टाइम्सले जनाएको छ। हाना बिच र सजल प्रधानले तयार पारेको विस्तृत रिपोर्टमा प्रत्यक्षदर्शी, सहभागी व्यक्ति र विज्ञहरूसँगको अन्तर्वार्ता तथा तस्बिर–भिडिओ विश्लेषणका आधारमा ती आगजनीहरू स्वतःस्फूर्त नभएको निष्कर्ष निकालिएको छ।
रिपोर्टका अनुसार, भदौ २३ गते युवामाथि गोली चलाउनुअघि नै भ्रष्टाचारमा संलग्न भनिएका व्यक्तिहरूको नाम, ठेगानासहितको सूची अनलाइनमा सार्वजनिक भएको थियो। त्यसको भोलिपल्ट दिउँसो ती व्यक्तिहरूको घरमा एकपछि अर्को गरी आगो लगिन थालेको जनाइएको छ।
“विध्वंसको तीव्रता यति भयानक थियो कि मानौँ केही घण्टामै सयौँ हवाई आक्रमण भएको होस्,” रिपोर्टमा उल्लेख छ।
फायर इन्जिनियरिङका विज्ञ रिचर्ड ह्यागरलाई उद्धृत गर्दै टाइम्सले लेखेको छ, “कुनै संगठनको योजना र तयारीबिना यति छोटो समयमा यति धेरै ठाउँमा आगो लगाउन सकिँदैन। यस्तोका लागि कम्तीमा पनि हप्तौँदेखि तयारी गर्नुपर्छ।”
तर, अहिलेसम्म जलेका सामग्रीको नमुना प्रयोगशालामा परीक्षणका लागि नपठाइएको रिपोर्टमा उल्लेख छ। विज्ञहरूले ढिलाइ हुँदै जाँदा प्रमाण हराउने र दोषी पत्ता लगाउन कठिन हुने चेतावनी दिएका छन्।
प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाका प्रमुख पवन ढुंगानाले आफ्नो टोलीलाई आगजनीबारे अनुसन्धान गर्न अहिलेसम्म नबोलाइएको पुष्टि गरेका छन्।
“देशभर भएका आगजनीका घटना हेर्दा कतै योजनाबद्ध त थिएनन् भन्ने शंका हुन्छ, तर प्रमाण भने छैन,” उनले भनेका छन्।
रिपोर्टमा संसद् भवनबाट भीड दुई घण्टामै सर्वोच्च अदालत हुँदै सिंहदरबार पुगेको उल्लेख छ। भीड पुगेको आधा घण्टाभित्रै सिंहदरबारबाट बाक्लो धुवाँ निस्किन थालेको र त्यसपछि ठूलो ज्वाला उठेको जनाइएको छ। आगोको तीव्रता भवन आफैं जल्दा हुने भन्दा बढी देखिएको र आगो फैलाउन रासायनिक पदार्थ प्रयोग गरिएको हुनसक्ने आशंका गरिएको छ।
ढुंगानाको भनाइ उद्धृत गर्दै रिपोर्टमा लेखिएको छ, “फोटोहरूमा देखिएको आगोको स्वरूप हेर्दा सोडियम वा म्याग्नेसियमजस्ता रासायनिक पदार्थ प्रयोग भएको शंका लाग्छ, तर परीक्षण नगरी निश्चित भन्न सकिँदैन।”
रिपोर्टका अनुसार, यस्ता रासायनिक पदार्थ सामान्यतया खुला रूपमा किन्न पाइँदैन, र ती पदार्थ प्रयोग गरे पनि ठूला भवन जलाउन ठूलो मात्रामा इन्धन आवश्यक पर्छ।
त्यस्तै, सामान्यतया बन्द रहने सिंहदरबारका माथिल्ला तलाका झ्यालहरू त्यसदिन खुला रहेको र त्यसले आगो फैलिन सहयोग गरेको पनि रिपोर्टमा उल्लेख छ।
सिंगापुरस्थित फायर साइन्स फरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कीले भनेका छन्, “भवनको आकार, क्षति र आगोको तीव्रता हेर्दा यो घटनामा योजनाबद्ध षड्यन्त्रको सङ्केत देखिन्छ। त्यसपछि प्रश्न उठ्छ — आगो दन्काउने पदार्थ भवनभित्र कसरी पस्यो? के भित्री मिलेमतो थियो? सुरक्षाकर्मीहरूले चौकी किन छाडे?”
प्रत्यक्षदर्शी र संलग्न केही व्यक्तिहरूका अनुसार, आगजनी गर्नेहरूसँग इन्धनका भाँडाहरू र सलेदो भिजेको बोतलहरू थिए। सहभागी तीन युवकले आफूहरू अलग–अलग सिफ्टमा काम गरेको र अपरिचित व्यक्तिले मोटरसाइकलबाट पेट्रोल बम बाँडेको बताएका छन्। तीमध्ये दुई जनाले आफ्ना मोबाइलमा आक्रमणका भिडियो देखाएका पनि रिपोर्टमा जनाइएको छ।
“हामीलाई थाहा पाउन मन छ यो कसले गर्यो,” ढुंगानाले भनेका छन्, “तर अहिलेको अवस्थामा पत्ता लगाउन गाह्रो देखिन्छ।”