© २०२३
लमही , २७ असोज ।
देशमा जारी राजनीतिक अस्थिरता, सुरक्षा चुनौती र शासन व्यवस्थामा देखिएका समस्या समाधानका लागि सहमति र शान्तिपूर्ण निकास खोज्न नागरिक समाज दाङले आग्रह गरेको छ ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि देश तरल अवस्थामा पुगेको भन्दै नागरिक समाजले सोमबार विज्ञप्ति जारी गर्दै देशलाई अस्थिरताबाट उठाएर शान्तिपूर्ण निकास दिन सबै पक्ष एकजुट हुनुपर्ने उल्लेख गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “देशमा कतिखेर के हुन्छ, अनुमान गर्न सक्ने अवस्था छैन । अपराधीहरू जेलबाट फरार छन्, सुरक्षा निकायका केही हतियार सरकारी नियन्त्रणभन्दा बाहिर छन्, न्यायालयहरू अस्तव्यस्त छन्, र सरकारी कार्यालयहरू सञ्चालनमा कठिनाइ आइरहेको छ ।”
त्यसै गरि नागरिक समाजले सर्वप्रथम जनताको ज्यान र सम्पत्तिको सुरक्षालाई प्राथमिकता दिनुपर्ने बताएको छ । फरार व्यक्तिहरू समाजकै सदस्य भएकाले उनीहरूले आत्मसमर्पण गर्नुपर्ने उल्लेख गर्दै भनिएको छ, “फरार व्यक्तिहरूले अपराधबाट मुक्त भएको मानिँदैन, त्यसैले स्वेच्छाले आत्मसमर्पण गर्नु नै उचित हुनेछ ।”
यस्तै, फरार व्यक्तिका परिवार र समुदायले पनि उनीहरूलाई कानुनी प्रक्रियामा ल्याउन सहयोग गर्नुपर्ने नागरिक समाजले जनाएको छ । लुटिएका वा भेटिएका हतियार सम्बन्धित निकायमा बुझाउने वा सूचना दिने दायित्व हरेक नागरिकको कर्तव्य भएको उल्लेख गरिएको छ ।
नागरिक समाज दाङका संयोजक निम बहादुर थापाले सो विज्ञप्ति जारी गर्दै देशमा सुशासन र पारदर्शिता कायम गर्न सबै राजनीतिक दल, सरकार र सचेत नागरिक एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् । “अनियमितता, भ्रष्टाचार र कुशासनविरुद्ध निष्पक्ष छानबिन गरी कानुन बमोजिम कारबाही गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ ।
नागरिक समाज दाङका संयोजक थापा र सचिव नारायणप्रसाद श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तिमा देशलाई शान्तिपूर्ण निकास दिन सबै दल, जेन्जी आन्दोलनका युवा, अधिकारकर्मी र सञ्चारकर्मीलाई एकताबद्ध हुन अपिल गरिएको छ ।
उनहरूले भने, “जेन्जी आन्दोलनको उद्देश्य सुशासन र भ्रष्टाचारमुक्त नेपाल बनाउने थियो, तर त्यस क्रममा भएका दुर्भाग्यपूर्ण घटनाबाट सिक्दै अब देश पुनः निर्माण र पुनर्जागरणतर्फ अघि बढ्नुपर्छ ।”
विज्ञप्तिले अन्त्यमा सबै नेपालीबिच सहमति र संवादको माध्यमबाट लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्दै आगामी संसदीय निर्वाचनमा सहभागितामार्फत देशलाई शान्तिपूर्ण समाधान दिनुपर्ने निष्कर्ष निकालेको छ ।