© २०२३
काठमाडौं, २७ असोज ।
नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई जेन–जी आन्दोलनमा भएको मानवीय क्षतिको विषयमा छानबिनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आन्दोलनको समयमा भएको घटनाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकले लिनुपर्ने बताएका हुन् ।
उनले आन्दोलनको पहिलो दिन अर्थात् असोज २३ गते ठूलो मानवीय क्षति भएको भन्दै त्यसको प्रतिक्रियास्वरूप नेविसंघले तत्कालै दुवैको राजीनामा माग गरेको दाबी गरे ।
अध्यक्ष शेर्पाले काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) लाई पनि अनुसन्धानको दायरामा ल्याउन माग गरेका छन् । उनको दाबी अनुसार, जेन–जी आन्दोलनको नेतृत्व बालेनले गरेको देखिएको छ र सिंहदरबारमा भएको आगजनीलगायत घटनाको सन्दर्भमा पनि बालेनमाथि तत्काल अनुसन्धान सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए ।
नेविसंघले आन्दोलनको क्रममा भएका आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।
सरकारले माग बेवास्ता गरेमा आन्दोलनमा उत्रने चेतावनी समेत नेविसंघले दिएको छ ।