© २०२३
पाल्पा ।
पाल्पाका कसेनी–सिकारकोटका ७० वर्षीय बहादुर दर्लामी आफ्नो बाल्यकालदेखि देख्दै आएको एउटा अनौठो रुख अहिले नचिन्ने अवस्थामा पुगेका छन्। बाजेको पालादेखि रहेको त्यो रुख ढलेपछि मात्र थाहा भयो—त्यो त अत्यन्तै बहुमूल्य र वास्नादार वनस्पति ‘मालगेडी’ रहेछ। त्यस्तै सत्यवती गाउँका दिलप्रसाद खनालको बारीमा उम्रिएको अर्को यस्तै रुख ढलेपछि यसको काठ र बोक्राको सुगन्ध देख्दा गाउँलेहरूमा चासो बढ्यो। सुरुमा रक्तचन्दन ठानेर डराएका स्थानीयले पछि यसको वास्तविक पहिचान पाए—यो त आर्थिक र औषधीय दृष्टिले अत्यन्त उपयोगी वनस्पति रहेछ।
तर, यस्ता बहुपयोगी वनस्पतिहरूको महत्त्वबारे अज्ञानताका कारण पाल्पाका धेरै ठाउँमा मालगेडी त्यसै खेर गएको छ। स्थानीयहरूलाई यसको कानुनी स्थिति, बजार मूल्य र प्रयोगबारे थाहा नभएकाले उत्पादन र संरक्षणमा कमी आएको हो।
अब भने डिभिजन वन कार्यालय पाल्पाले यसको व्यावसायिक खेती विस्तार गर्ने तयारी गरेको छ। कार्यालय प्रमुख मोहन श्रेष्ठका अनुसार यस वर्षदेखि नर्सरी उत्पादनमार्फत मालगेडीको खेती सुरु गरिँदैछ। उनले भने, “यो वनस्पति अत्यन्त उपयोगी छ—यसको फल बजारमा प्रतिकिलो करिब चार सय रूपैयाँसम्ममा बिक्री हुन्छ।”
मालगेडी रुख १५ मिटर अग्लो र पाँच मिटर गोलाकार हुन्छ। एक रुखले वार्षिक ६०–७० किलोसम्म फल दिन सक्छ र करिब ४० वर्षसम्म जीवित रहन्छ। यसको फल र बोक्राबाट सुगन्धित तेल निकालिन्छ, जुन अगरबत्ती र औद्योगिक उत्पादनका लागि कच्चा पदार्थको रूपमा प्रयोग गरिन्छ। पुराना रुखको काठ फर्निचरका रूपमा उच्च मूल्यमा बिक्री हुने गर्छ।
यो वनस्पति नेपाल, भारत र भुटानमा मात्र पाइने भएकाले यसको व्यावसायिक सम्भावना उच्च रहेको वन प्राविधिकहरू बताउँछन्। चुरेभन्दा माथिको महाभारत क्षेत्रमा यसको खेतीका लागि उपयुक्त हावापानी भएकाले यस वर्षबाट नै मालगेडीलाई आयआर्जन वृद्धिका नयाँ विकल्पका रूपमा अघि सारिएको वन कार्यालयले जनाएको छ।