Butwal Today

कवाड तस्करसँग सशस्त्र प्रहरीको ‘असुली धन्दा’

२७ आश्विन २०८२, सोमबार
अ+
अ-

समाचार सारांशमा


  • बाँके–बर्दिया क्षेत्रको गुलरिया नगरपालिका लौकारी नाकाबाट कबाड तस्करी खुलेआम भइरहेको छ ।


  • सरकारले कबाड निकासीमा प्रतिकेजी रु. १० भन्सार शुल्क तोकेको छ ।


  • शुल्क बढेपछि व्यापारीहरूले साइकलबाट सानो मात्रामा निकासी (तस्करी) गर्न थालेका छन् ।


 

बाँके, २७ असोज ।
कवाड व्यापारीहरूले सशस्त्र प्रहरीको चेक पोष्टबाटै खुलेआम तस्करी गरेका छन् । बर्दियाको गुलरिया नगरपालिकामा पर्ने लौकारी नाकाबाट तस्करी गर्ने गरेको पाइएको छ ।

कवाड व्यापारीबाट सशस्त्र प्रहरीले मासिक रकम असुली गरी नाका खुकुलो गर्ने गरेका हुन् । भारतीय कबाडका व्यापारीहरू विहानपख नेपाल प्रवेश गर्ने र दिनभरि नेपालको विभिन्न गाउँ गाउँ पुगेर कवाड खरिद गरेर साँझ बाँके र बर्दियाको नाकाबाट सामान लैजाने गरेका छन् ।

त्यसरी सामान लैजाँदा सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलेमतोमा भन्सार नगराई भारत लाग्ने गरेका छन् । कबाड तस्करी गराउन चेकपोस्टमा एजेन्ट समेत बस्ने गरेको पाइएको छ ।

तर राजापुर भन्सार कार्यालयका सूचना अधिकारी प्रमोद कुशवाहाले भन्सार गराएरै सामान पठाउने गरेको दाबी गरे । तर लौकाही नाकाबाट दैनिक दर्जनौँ साइकल प्रशासनलाई चुनौती दिँदै सामान बोकिरहेका भेटिन्छन् ।

सरकारले कबाड निकासीमा प्रतिकेजी दश रुपैयाँ भन्सार शुल्क लगाएको छ । भन्सार शुल्क प्रतिकेजी दश रुपैयाँ लगाए सँगै कबाड व्यवसायीहरू साइकल मार्फत भारत तर्फ निकासी गर्न थालेका छन् ।

भारत तर्फ कबाड निकासी गर्दा साइकलमा कम मात्रमा निकासी गर्दा प्रशासनको ध्यान नजाने भएकोले साइकलमा निकासी गरेको हुनसक्ने नेपालगन्ज भन्सार कार्यालय बाँकेका प्रमुख जनार्दन पौडेलले बताए ।

पहिला नेपालमा उद्योग कम भएको कारणले कबाड निकासी गर्नमा सरकार र व्यवसायीहरूका पनि त्यति ध्यान थिएन । तर नेपालमै उद्योगहरूको स्थापना थपिँदै गएको र समान उत्पादन गर्नका लागि भारतको बाटो हुँदै विदेशबाट समेत कच्चा पदार्थ आयत गर्नु पर्ने भएको कारणले उद्योगीहरू कबाडलाई भारतमा भन्दा नेपालमै बिक्री गरे उद्योगीहरूलाई प्रतिकेजी दश रुपैयाँ सम्म कम हुने थियो ।

उनले भने, कबाड व्यवसायीहरूले भारतमा लगेर बिक्री गर्दा नेपालमा भन्दा दश रुपैयाँ महँगोमा बिक्री हुने भएकोले त्यहाँ लगेर बिक्री गर्ने गरेका छन् । कबाडको भन्सार प्रतिकेजी दश रुपैयाँ नभएको बेला व्यापारीहरूले ट्रकमा लगेर बिक्री गर्दा प्रति ट्रक एक सय दश रुपैयाँको दरले भन्सार शुल्क उठाउँदा एक वर्षमा ७२ लाख सम्म राजस्व उठ्ने गरेको थियो ।

तर प्रतिकेजी दश रुपैयाँको दरले भन्सार शुल्क लगाउँदा कवाडबाट उठ्ने शुल्क शून्य जस्तै भएको प्रमुख पौडेलले जानकारी गराए ।

कबाड कसरी तस्करी हुन्छ कुनै ठेगान हुँदैन तर दैनिक लाखौँ रकमको कवाड तस्करी भएको हुन्छ । कम मात्रमा निकासी गर्न लागेका कवाडीहरूलाई राजस्व लिने कुरा भएन तर पनि रोकथाम गर्दा गर्दै तस्करी भएको छ ।

सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक मान बहादुर शाहीले खुल्ला सिमानाका कारण पूर्ण रूपमा कडाइका साथ रोक्न नसकिएको बताए । उनले भने–‘बर्दिया मात्र होइन यो तराई क्षेत्रको सबै सीमा नाकाहरूमा यस्तै छ कडाई गर्न खोजे पनि गर्न सकिन्न ।’