© २०२३
कपिलवस्तु, २७ असोज ।
नेपाली काँग्रेस पार्टी कपिलवस्तुका ७२ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिले यथास्थितिमा पार्टी सञ्चालन हुन नसक्ने भन्दै विशेष अधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् ।
जिल्लाको तीन निर्वाचन क्षेत्रमा कायम रहेका ६९ जना महाधिवेशन प्रतिनिधि मध्य ५० जनाले विशेष अधिवेशनका पक्षमा हस्ताक्षर गरेका हुन ।
वर्तमान अवस्थालाई मध्यनजर गरी समसामयिक परिस्थिति, नीति, विधान र संरचनात्मक परिवर्तन सहितको नेतृत्व लगायतको विषयमा विशेष निर्णयको अपरिहार्यता रहेको भन्दै पार्टीको विधान २०१७ (संशोधित सहित) को धारा १७ को उपधारा २ बमोजिम विशेष महाधिवेशन आव्हान गर्न हस्ताक्षर मार्फत माग गरिएको हो ।
नेपाली काँग्रेसको १४ औँ अधिवेशनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा कुल ७७ जना महाधिवेशन प्रतिनिधि रहेकोमा ३ महाधिवेशन प्रतिनिधिको मृत्यु भएको र ५ जना महाधिबशेन प्रतिनिधि अन्य पार्टीमा गएकाले अहिले जिल्लाबाट ६९ जना महाधिवेशन प्रतिनिधि कायम रहेका छन् ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ मा कायम रहेका २५ महाधिवेशन प्रतिनिधि मध्य १४ जनाले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्ने महाधिवेशन प्रतिनिधिमा दुर्गा सेन र जमसेद खाँ सहित १४ जना छन् ।
त्यसै गरी निर्वाचन क्षेत्र नम्बर २ मा कायम २३ जना महाधिवेशन प्रतिनिधि मध्य २० जनाले हस्ताक्षर गरेका छन् । क्षेत्र नम्बर २ मा हस्ताक्षर गर्नेमा महाधिवेशन प्रतिनिधि रहेका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य, जिल्ला सभापति अब्दुल कलाम सहित २० जना छन् ।
त्यसै गरी क्षेत्र नम्बर ३ मा कायम २१ जना महाधिवेशन प्रतिनिधिहरू मध्य पूर्व सांसद वीरेन्द्र कुमार कनौडिया र क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय सहित १६ जनाले हस्ताक्षर गरेका छन् ।
पार्टी यथास्थितिमा निर्वाचनमा जाँदा पार्टीले क्षति व्यहोर्नुपर्ने विषयलाई मध्यनजर गरी विशेष अधिवेशनको माग गरिएको प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यले बताए ।
विगतमा जिल्लामा संस्थापन पक्षमा देखिएका अधिकांशले समेत पार्टी यथास्थितिमा चल्न नसक्ने र पार्टीमा परिवर्तन आवश्यक रहेको भन्दै विशेष अधिवेशनको पक्षमा हस्ताक्षर गरेका हुन ।
जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति संस्थापन पक्षको रहेको भए पनि ५६ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष अधिवेशनको पक्षमा हस्ताक्षर गर्नुले जिल्लामा संस्थापन ईतर पक्ष दुई तिहाई भन्दा बलियो अवस्थामा देखिएको छ ।