© २०२३
काठमान्डौ, २७ असोज ।
राजधानीको कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा मानव स्वास्थ्यका लागि हानिकारक हुने गरी उच्च मात्रामा विषादी फेला परेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार मकवानपुरबाट बिक्रीका लागि ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ समूहको विषादी भेटिएको हो ।
सोमबार केन्द्रीय कृषि प्रयोगशालाअन्तर्गत विषादी अवशेष द्रुत विश्लेषण इकाईले कालीमाटी बजारमा रहेका १५ थरी तरकारीमा विषादी परीक्षण गरेको थियो । परीक्षण गरिएको ती तरकारीमध्ये अकबरे खुर्सानीमा सबैभन्दा बढी विषादीको मात्रा पाइएको समितिले जनाएको छ ।
नेपालमा हाल कार्बामेट र अर्गानोफस्फेट गरी दुई समूहका विषादीको परीक्षण हुँदै आएको छ । बजारमा विक्री हुने तरकारी र फलफूलमा यी दुई समूहका विषादी अवशेषको मात्राको मूल्याङ्कन गरी सुरक्षित वा असुरक्षित तोक्ने गरिन्छ ।
विश्लेषणका मापदण्ड अनुसार विषादीको ‘रोकावट प्रतिशत’ ३५ भन्दा कम भए उपभोगयोग्य, ३५ देखि ४५ प्रतिशतबीच भए केही दिन राखेपछि मात्र खानेयोग्य र ४५ प्रतिशतभन्दा बढी भए खान अयोग्य मानिन्छ ।
त्यसअनुसार, अकबरे खुर्सानीमा भेटिएको ५४ प्रतिशतभन्दा बढी विषादीका कारण यसलाई मानव स्वास्थ्यका लागि पूर्ण रूपमा हानिकारक र उपभोगका लागि अयोग्य मानिएको छ ।
कृषि विज्ञहरूका अनुसार अर्गानोफस्फेट विषादीको अत्यधिक प्रयोगले दीर्घकालीन रूपमा स्नायु प्रणालीमा असर पुर्याउने, क्यान्सरको जोखिम बढाउने र वातावरणीय सन्तुलनमा नकारात्मक प्रभाव पार्ने सम्भावना रहन्छ ।
