Butwal Today

हमासले गाजाबाट २० बन्धक रिहा गर्‍यो

२७ आश्विन २०८२, सोमबार
अ+
अ-

२७ असोज, काठमाडौं ।

हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार, हमासले ती बन्धकहरूलाई रेडक्रसको सहयोगमा इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ ।

उनीहरूलाई हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायली सीमाक्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरेर गाजामा पुर्‍याएको थियो ।

२० जना बन्धकको रिहाइसँगै, सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दीहरू रिहा गर्नेछ ।
हमासले बन्धकहरू रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइको आशा गरिएको थियो ।

तर, हालसम्म विपिन जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनी पनि २०२३ अक्टोबर ७ कै दिन हमासद्वारा अपहरणमा परेका थिए ।

हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो । रिहा भएका बन्धकहरूको केही तस्बिरहरू इजरायली सेनाले सार्वजनिक गरेको छ ।

उक्त तस्वीरहरूमा जुम्ल्याहा दाजुभाइ गली र जि बर्मन पनि रहेका छन् । उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल गरिरहेका देखिन्छन् । अन्य तस्वीरहरूमा बन्धकहरू इजरायली सैनिकसँग संवाद गरिरहेको दृश्य देखिन्छ ।