© २०२३
काठमाडौँ ।
आफूलाई विदेशी समूह भन्दै जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न भएको आरोप लागेपछि टीओबी अर्थात् ‘द ओरिजिनल ब्रदर्स’ ले त्यसलाई खण्डन गरेको छ ।
समूहका सल्लाहकार हाकिम गुरुङ उर्फ सुरेन्द्र गुरुङले आइतबार फेसबुकमा ‘टीओबी बाइकर्स ग्रुपको स्पष्टीकरण र अपिल’ जारी गरेका छन् ।
उनीहरूले आफूहरू कुनै विदेशी नभई नेपालकै विविध जाति, समुदाय र पृष्ठभूमिका युवा सदस्यको समावेशी समूह भएको दाबी गरेका छन् ।
उनीहरूले भनेका छन् कि समूहको उद्देश्य देशप्रति माया देखाउने, भ्रष्टाचार र अन्य अनियमितताविरुद्ध सचेतना जगाउने तथा शान्तिपूर्ण र कानुनी सीमाभित्र रहेर जनआवाज उठाउने हो ।
यसै क्रममा गत भदौ २३ गते भएको जेनजीको शान्तिपूर्ण आन्दोलनमा सहभागी भए पनि भदौ २४ गते भएको तोडफोड र आगजनीमा आफ्नो समूह संलग्न नरहेको उनीहरूले स्पष्ट पारेका छन् ।
‘भदौ २३ मा भएको आन्दोलनमा हामी शान्तिपूर्ण रूपमा सहभागी थियौँ । भदौ २४ मा आगलागी र तोडफोड भएको भन्ने समाचार फैलिएको छ । यसबारे हामी स्पष्ट पार्न चाहन्छौँ– उक्त घटनास्थलमा हाम्रा कुनै पनि सदस्यहरू उपस्थित थिएनन् र हाम्रो समूहले सो किसिमको हिंसात्मक वा गैरकानुनी गतिविधिमा संलग्न भएको छैन ।
हाम्रो समूहमा एउटा साथी छन्, जसका पूर्वज तिब्बती हुन् र जो आफ्नो संस्कृतिलाई गर्वका साथ प्रस्तुत गर्नुहुन्छ । उनलाई जातीय वृत्तान्त वा भेदभावको आधारमा लक्षित गरिनु निन्दनीय छ । उनी पनि पूर्ण नेपाली नागरिक हुन् र उनी वा हाम्रा अरू साथीहरूले देशको हानि गर्ने कुनै काम गरेको छैन । हाम्रो समूहमा धेरै जेनजी उमेरका युवा छन्, जो परिवर्तन, पारदर्शिता र जिम्मेवारीको पक्षमा आवाज उठाउँछन् ।
ती युवाहरूलाई अपमान र घरेलु राजनीतिक रंगहरूमा फसाएर मेटाउन खोज्नु गलत हो । हामी उहाँहरूको आवाजको सम्मान गर्दछौँ र तिनले उठाएका वैध चिन्ताहरूलाई ध्यानपूर्वक सुन्नु सबैको कर्तव्य हो’, उनले लेखेका छन् ।
‘हामी सबै सञ्चारमाध्यम र सर्वसाधारणसँग विनम्र अनुरोध गर्दछौँ कि समाचार वा सामाजिक सञ्जालमा कुनै पनि आरोप ओहोरदोहोर गर्नुअघि तथ्यको पुष्टि गरियोस् र प्रमाण प्रस्तुत गरियोस् । सत्य उजागर गर्न हामी कसैसँग पनि खुला संवाद र सहकार्य गर्न तयार छौँ ।
महत्त्वपूर्ण सूचनाः यदि कसैसँग तानाशाही, तोडफोड वा आगजनी गर्ने हाम्रो समूह वा हाम्रा सदस्यहरूमाथि ठोस प्रमाण (प्रमाणिक भिडिओ, तस्बिर, कागजात वा कानुनी दाबी) छ भने हामी ती प्रमाणको सामना गर्न र आवश्यक परे कानुनअनुसार सजाय भोग्न पूर्ण रूपमा तयार छौँ ।
सत्य सिद्ध भएपछि कानुनले जे माग्छ, हाम्रा लागि स्वीकार्य हुनेछ। तर अनावश्यक आरोप, असत्य प्रचार र जातीयद्वेषजन्य टिप्पणीबाट हामी आफ्नो सुरक्षा र बौद्धिक सम्मानको लागि कानुनी तथा सामाजिक उपायहरू लिन बाध्य हुनेछौँ ।
हामी फेरि दोहोर्याएर भन्छौँ– टीओबी समूह शान्तिपूर्ण, जिम्मेवार र समावेशी छ । हाम्रो लक्ष्य मात्र देशको भलो, पारदर्शिता र सामाजिक न्याय हो। कृपया अफवाह नफैलाउनुहोला र तथ्यमा आधारित जानकारी लिनुहोस् ।’