© २०२३
बुटवल, २६ असोज ।
यस हप्ताको सुरुमा काबुलमा भएको पाकिस्तानी हवाई आक्रमणको प्रतिक्रियास्वरूप शनिबार राति अफगानिस्तानका तालिबान लडाकुहरूले पाकिस्तान–अफगान सीमा क्षेत्रमा रहेको पाकिस्तानी सुरक्षा चौकीमाथि तीव्र आक्रमण गरेका छन् । दुवै देशका सुरक्षा स्रोतका अनुसार यसपछि दुई पक्षबीच गोली हानाहान भएको छ ।
पाकिस्तानी सुरक्षा अधिकारीहरूले अफगानिस्तानतर्फबाट भएको अप्रत्याशित गोलाबारीको पूर्ण शक्तिका साथ जवाफ दिइरहेको बताएका छन् । उनका अनुसार सीमाको कम्तीमा ६ स्थानमा भिडन्त चलेको थियो । सोही क्रममा तालिबान पक्षले तीन पाकिस्तानी सीमा पोस्ट कब्जा गरेको दाबी गरेको छ भने पाकिस्तानले धेरै अफगान चौकीहरू नष्ट गरेको जनाएको छ ।
पाकिस्तानी सुरक्षाबलले सार्वजनिक गरेको भिडियो फुटेजमा अफगान सीमातर्फ तोप र बन्दुकबाट आक्रमण गरिँदै गरेको दृश्य देखिन्छ ।
हवाई हमलाको बदला
अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ता इनायतुल्लाह खोवारजमीले पाकिस्तानले अफगान हवाई क्षेत्रको उल्लङ्घन गरेकाले यो कारबाही “बदलाको रूपमा” गरिएको दाबी गरेका छन् । उनका अनुसार आक्रमण स्थानीय समयअनुसार मध्यराततिर रोकिएको थियो ।
खोवारजमीले चेतावनी दिंदै भने, “यदि पाकिस्तानले पुनः अफगानिस्तानको हवाई क्षेत्र उल्लङ्घन गर्ने हो भने, हाम्रा सशस्त्र बल त्यसको कडा जवाफ दिन तयार छन् ।”
भिडन्त अन्त्य भएको वा अझै जारी रहेको बारेमा पाकिस्तानले आधिकारिक प्रतिक्रिया दिएको छैन ।
दुवै देशबीचको सीमा करिब २,६०० किलोमिटर लामो छ । पाकिस्तानले लामो समयदेखि अफगान तालिबान प्रशासनमाथि पाकिस्तानी तालिबान (टीटीपी) का लडाकुहरूलाई सुरक्षित आश्रय दिएको आरोप लगाउँदै आएको छ । पाकिस्तानको दाबी अनुसार यी लडाकुहरू भारतको सहयोगमा पाकिस्तानभित्र आक्रमण गर्दै आएका छन् । भारतले भने सो आरोप अस्वीकार गरेको छ ।
तालिबान प्रशासनले आफ्नो भूमि कुनै पनि विदेशी शक्तिको हितमा प्रयोग हुन नदिएको स्पष्ट पारेको छ ।
पाकिस्तानी सुरक्षा अधिकारीका अनुसार यस हप्ताको सुरुवातमा काबुलमा भएको हवाई आक्रमण टीटीपीका एक वरिष्ठ नेतामाथि लक्षित थियो, तर उनी मारिए वा बाँचिए भन्ने पुष्टि भएको छैन ।
यता, तालिबान प्रशासनका विदेश मन्त्रीले यस हप्ता भारतको भ्रमण गरेका थिए । सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि कुनै वरिष्ठ तालिबान अधिकारीको यो पहिलो यस्तो यात्रा हो र दुई पक्षले सम्बन्धलाई स्तरोन्नति गर्न सहमत भएका छन् । यो भ्रमणले पाकिस्तानमा थप चिन्ता बढाएको छ ।