© २०२३
काठमाडौँ ।
सेयर बजार परिसूचकमा आज पनि उच्च गिरावट आएको छ । गत साता झण्डै ८० अंकको क्षति व्यहोरेको सेयर बजार आइतबार ७८.८३ अंकले घटेको हो । यससँगै बजार परिसूचक २५०३.५३ अंकमा झरेको छ ।
कारोबारको सुरुवातदेखि नै उच्च अंकले घटेको बजार पहिलो २ घण्टासम्म लगातार ओरालो लागेको थियो । यस अवधिमा बजार झण्डै ८७ अंकले घट्दै २४ सयको लाइन छोएको थियो ।
त्यसपछि बजार केही सम्हालिएको देखियो । अन्तिम २ घण्टामा सामान्य सुधार हुँदै बजार २५ सयभन्दा माथि रहेर बन्द भएको हो ।
आज बजारमा होटल तथा पर्यटन क्षेत्रमा ४.८४ प्रतिशत र अन्य क्षेत्रका कम्पनीमा ४.७९ प्रतिशतको सर्वाधिक गिरावट देखिएको छ । फाइनान्स, हाइड्रोपावर र इन्भेष्टमेन्ट समूहमा पनि ३ प्रतिशतभन्दा बढीको गिरावट आएको छ । सबैभन्दा कम गिरावट म्युचुअल फण्ड समूहमा देखिएको छ, जुन ०.९९ प्रतिशतको हो ।
यद्यपि आज कुनै पनि कम्पनीको मूल्यमा नकारात्मक सर्किट लागेको छैन, तर ३५ वटा कम्पनीको मूल्यमा ५ प्रतिशतभन्दा बढीको गिरावट देखिएको छ । यसबीच, नेपाल माइक्रो इन्स्योरेन्सको मूल्यमा ६.०१ प्रतिशतको वृद्धि भएको छ, जुन आजको बजारमा सबैभन्दा बढी वृद्धिदर हो ।
आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । यस कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि क्रमशः एनएलजी इन्स्योरेन्सको ३७ करोड र युनियन हाइड्रोपावरको ३६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।