© २०२३
काठमान्डौ, २६ असोज ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जेन–जी आन्दोलनअघि दुई ट्रकमा दुई करोड रुपैयाँ निकालिएको र सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने प्रचार खण्डन गरेको छ ।
प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जारी गरेको प्रेस नोटमा भनिएको छ, “हामी सम्बन्धित सञ्चारमाध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन–जी आन्दोलनपूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं ।”
जेन–जी आन्दोलनको दोस्रो दिन, २४ भदौमा प्रचण्ड र उनका छोरीहरू रेणु दाहाल र गंगा दाहालको घरमा आगजनी भएको थियो । त्यसपछि नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदीले एक युट्युब च्यानलसँगको कुराकानीमा प्रचण्डको निवासबाट दुई ट्रक रकम अन्यत्र लगिएको दाबी गरेका थिए ।
सचिवालयले डिजिटल माध्यमबाट फैलाइएका यी निराधार प्रचारप्रसार साइबर कानुन विपरीत भएकाले आवश्यक अनुसन्धान र कानुनी कारबाहीको लागि सम्बन्धित निकायलाई अनुरोध गरेको जनाएको छ ।
यसबीचमा सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र प्रचण्डको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती समेत गरेको छ । सुरक्षा कार्यविधिमा उल्लेख मापदण्ड उलंघन गर्दै भीआईपीहरूले सुरक्षाकर्मी प्रयोग गरेकाले तिनलाई फिर्ता बोलाइएको सरकारको भनाइ छ ।