© २०२३
काठमान्डौ, २६ असोज ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा. धवलशम्शेर राणाले असन्तुष्ट पक्षको बैठक बोलाएका छन् । बैठक आइतबार दिउँसो १२ : ३० बजे सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा हुने भनिएको छ ।
राणानिकट एक केन्द्रीय सदस्यका अनुसार बैठकमा चार मुख्य एजेन्डा छलफलका लागि तय गरिएको छ । प्रमुख एजेन्डामा नियमित महाधिवेशनका लागि दबाब बढाउने र यदि नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन आयोजना गर्न दबाब दिने विषय समावेश छ ।
राप्रपाको नियमित महाधिवेशन आगामी मंसिरमा सम्पन्न हुनुपर्नेछ । असन्तुष्ट पक्षको बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले पदमुक्त गरेका नेताहरूको पुनर्बहालीको विषयमा पनि छलफल हुने बताइएको छ ।
अध्यक्ष लिङ्देनले अनुशासन समितिको संयोजक नवराज सुवेदीको स्थानमा रोशन कार्की मनोनीत गरेका थिए भने उपाध्यक्ष मुकुन्दश्याम गिरी, प्रवक्ता सगुन लावती र केन्द्रीय नेता धनसुर शाहीलाई पदमुक्त गरेका थिए । यस कदमले पार्टी दुईतर्फी विभाजनको अवस्था ल्याएको छ र विवाद निर्वाचन आयोगसम्म पुगेको छ ।
असन्तुष्ट पक्षले राणाले बोलाएको बैठकमा अध्यक्ष लिङ्देनलाई केन्द्रीय समिति बैठक आह्वान गर्न दबाब दिने योजना बनाएको छ । पार्टीमा तीन–तीन महिनामा बोलिनुपर्ने केन्द्रीय समिति बैठक माघदेखि बस्न सकेको छैन ।
त्यसैगरी, जेन–जी आन्दोलनपछि पार्टीको सक्रिय भूमिकामा कमी आएको विषय पनि बैठकको एजेन्डामा रहनेछ । नेताहरूलाई कारबाही गरेपछि राप्रपामा दुई पक्षबीच दूरी बढेको र दुवै पक्षले छुट्टाछुट्टै बैठक बोलाउन थालेका छन् ।