© २०२३
नवलपरासी, २६ असोज ।
जेनजी आन्दोलन भएको महिना दिनपछि जिल्ला स्थित जिल्ला अदालत, सरकारी वकिल कार्यालय र जिल्ला बार एसोसिएसन बिच भएको साझा अन्तर्क्रियाले अदालती कार्य गर्नका लागि ६ बुँदे निर्णय गरेको छ ।
जनतालाई प्रदान गर्ने सेवा सुविधा र अदालती काम कारबाही तथा जेनजी आन्दोलनले पारेको प्रभावबारे अन्तर्क्रियामा छलफल भए पश्चात् ती निर्णयहरू भएको जानकारी गराइएको हो ।
निर्णय अनुसार २०८२ भदौ २४ गते मा केही उछृङखल ब्यक्तिहरू अदालतको पूर्वपट्टिको गेट तोडी अदालतमा प्रवेश गरी तोडफोड र आगजनी गर्न लागेको अवस्थामा यस अदालतको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरूले अश्रुग्याँस प्रहार गरी भिडलाई तितरबितर पारी अदालत सुरक्षित राख्न सफल भएकोमा यस अदालतको सुरक्षार्थ खटिएका प्रहरी इन्चार्ज लगायत सम्पूर्ण प्रहरीलाई धन्यवाद ज्ञापन गरेको छ ।
जेनजीको भदौ २३ र २४ को आन्दोलन पश्चात् स्थगित भएको नियमित मुद्दाहरूको कार्तिक ११ गते देखि नियमित सुनुवाइ गर्ने । यसरी नियमित सुनुवाइ गर्नु पूर्व सोको सम्बन्धमा अदालतबाट आवश्यक प्रबन्ध मिलाई साप्ताहिक पेशी सुची प्रकाशन गरी सोको जानकारी अदालतबाट सरकारी वकिल कार्यालय र बार समेतलाई गराउने छ ।
यसै गरी विशेष प्रकृतिका फुटकर निवेदनहरू मिति २०८२ असोज २३ गते देखी नियमित सुनुवाइ गर्ने, नियमित मुद्दाको पेशी सुनुवाइ बाहेकका अन्य सम्पूर्ण काम कारबाही साबिक बमोजिम नै सञ्चालन गर्ने,अदालतमा प्रवेश गरी मुद्दा पक्षहरूलाई प्रभावित गर्ने अवाञ्छित व्यक्तिहरूको पहिचान गरी अदालत प्रवेशमा निरुत्साहित गर्ने र फिराद पत्र दर्ता सम्बन्धी सफ्टवेयर नबन्दासम्म अदालतले बार समेतको समन्वयमा व्यवस्थापन गरी फिराद दर्ता गर्ने र प्रतिवादीका नाउँमा म्याद समेत जारी गर्ने व्यवस्था मिलाउने कार्य गर्ने निर्णय सार्वजनिक गरिएको छ ।