© २०२३
काठमाडौँ ।
मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको बहुचर्चित ‘एक्सरसाइज क्याम्ब्रियन पेट्रोल २०२५’ मा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्क सहित स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।
वेल्स, ब्रेकनमा यही असोज २३ देखि २५ गतेसम्म सञ्चालन भएको उक्त अभ्यासमा बेलायतसहित ३३ राष्ट्रका ११७ वटा टोलीहरू सहभागी थिए । सन् १९६० देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको यो अन्तर्राष्ट्रिय सैन्य प्रतियोगिता विश्वकै प्रतिष्ठित अभ्यासमध्ये एक मानिन्छ । नेपाली सेना सन् २०१४ देखि यो प्रतियोगितामा नियमित सहभागिता जनाउँदै आइरहेको छ ।
प्रतियोगितामा सहभागी प्रत्येक टोलीले झण्डै ५० पौण्ड तौल बराबरको हतियार तथा उपकरण बोकी ५० किलोमिटर दूरी दुई दिनभित्र पार गर्नुपर्ने हुन्छ । अभ्यासको क्रममा टोलीहरूको सैन्य तयारी, सूचना सङ्कलन क्षमता, घाइते तथा बिरामीको व्यवस्थापन लगायतका विविध सैन्य दक्षता र सहनशीलताको परीक्षण गरिन्छ ।
यसअघि पनि नेपाली सेनाले सो प्रतियोगितामा सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो । यस पटकको सफलता सँगै नेपाली सेनाले अन्तर्राष्ट्रिय सैन्य अभ्यासमा आफ्नो कुशलता, अनुशासन र समर्पण पुनः प्रमाणित गरेको छ ।