© २०२३
काठमाडौँ ।
हिल्सा हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको सङ्ख्या यस वर्ष ६ हजारभन्दा बढी पुगेको छ । चीनसँग नेपालको हुम्लाको हिल्सा नाका गएको वैशाख १८ गते खुलेपछि हालसम्म ६ हजार ४ सय ७ जना विदेशी पर्यटक हुम्ला भित्रिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार, जेठदेखि असोजको पहिलो हप्ता सम्म नेपालगञ्ज हुँदै हुम्ला भएर मानसरोवर कैलाश दर्शन गर्न झण्डै ६ हजार भारतीय तीर्थयात्री पुगेका छन् ।
अन्य देशका ४ सय ५० जनासहित हुम्लामा कुल ६ हजार ४ सय ७ जना विदेशी पर्यटक पुगेका हुन् । मानसरोवर कैलाश दर्शन गर्न पुग्ने विदेशी पर्यटकको यो सङ्ख्या यस वर्षको अन्तिम हो ।
तीर्थयात्रीको आगमनका कारण व्यस्त रहने सिमकोट विमानस्थल अहिले सुनसान भएको छ । होटल व्यवसायी मिम लामाका अनुसार, चिसो बढ्दै जाँदा भारतीय तीर्थयात्रीहरूको यस वर्षको मानसरोवर कैलाश यात्राको समय सकिएको छ ।