© २०२३
गुल्मी, २६ असोज ।
चन्द्रकोट गाउँपालिकामा रहेको शान्तिपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले अन्तर्क्रिया गरेको छ । लामो समयदेखि अस्तव्यस्त बनेको खानेपानी उपभोक्ता समितिलाई नयाँ कार्यसमितिले तिन साताको अवधिमा संस्थालाई व्यवस्थित बनाउँदै स्थानीय स्तरमा खानेपानीको क्षेत्रमा देखिएका समस्याहरूलाई कसरी समाधान गर्न सकिन्छ भन्नेमा जुटेको छ ।
यस सम्बन्धमा उपभोक्ता समितिले सरोकारवाला निकाय र उपभोक्ताबिच गाउँपालिकामा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको हो । खानेपानी सेवाको सुधार, सहुलियत महसुलमा पानी वितरण र संस्थाको आगामी कार्यदिशा तय गर्ने उद्देश्यले उक्त अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको समितिका अध्यक्ष वीर बहादुर थापाले बताए ।
कार्यक्रमका जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण बहादुर खत्रीले खानेपानी जस्तो अत्यावश्यक सेवामा जनसहभागिता र पारदर्शिता अत्यन्तै महत्त्वपूर्ण रहने भन्दै संस्थाले उपभोक्ताको सुझावलाई प्राथमिकतामा राख्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।
उक्त कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष युवराज खत्री क्षत्रीले गाउँपालिकाले खानेपानी र सरसफाइको क्षेत्रमा देखिएका समस्या समाधानका लागि समितिले सुरु गरेका रचनात्मक कामहरूमा आवश्यक सहयोग र सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए ।
अन्तर्क्रियामा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गुल्मीका प्रमुख सरोज न्यौपानेले सरसफाइ र सुरक्षित पानी वितरण राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्दै, खानेपानीको लागि कार्यालयको तर्फबाट प्रदान गरिने आवश्यक उपलब्ध गराउने बताए ।
सोही कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख अर्जुन पोख्रेलले सामुदायिक विद्युतले आफ्ना ग्राहकहरूसँग शुल्क लिँदा नेपाल विद्युत् प्राधिकरणको विद्युत् महसुल सङ्कलन विनियावलीमा तोकेअनुसार मात्र शुल्क लिनुपर्ने व्यवस्था रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै विभिन्न वडाका वडाध्यक्ष एवं सहभागीहरूले खानेपानीको क्षेत्रमा देखिएका विभिन्न समस्या र समाधानका उपायहरूको बारेमा विभिन्न सुझाव र धारणाहरू राखेका थिए ।
अन्तर्क्रियाले खानेपानी व्यवस्थापनमा सुधार र पारदर्शिता ल्याउन सबै सरोकारवालाबिच समन्वय र सहकार्यको आवश्यकतालाई औँल्याएको थियो । समितिले आगामी दिनमा उपभोक्ताको सुझावलाई आत्मसात् गर्दै सबै उपभोक्तालाई सहुलियत दरमा गुणस्तरीय पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ ।