© २०२३
बुटवल, २६ असोज ।
विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा लायन्स डिष्ट्रिक ३२५ पी नेपालको सप्ताहब्यापी कार्यक्रम अन्तरगत आईतबार कालिका मानव ज्ञान माबिका विद्यार्थीहरुलाई सचेतनामुलक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा ‘सेवामा पहुँच–विपत्ति र आपतकालमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको लायन्स डिष्ट्रिक ३२५ पी नेपालका गभर्नर बालाराम भट्टराईले लायन्स यसवर्ष मानसिक स्वास्थ्यको विषयलाई प्राथमिकता दिएर कार्यक्रमहरु गरिरहेको बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई मनोचिकित्सक यशोदा बगालेले सहजिकरण गर्दै मानसिक समस्या व्यक्तिको सोच, व्यवहार, भावनात्मक सन्तुलन र निर्णय क्षमतामा देखिने असामान्य परिवर्तन भएको बताईन । मानसिक स्वास्थ्यका विषयहरूलाई विद्यालय र युवाबीच खुला रूपमा छलफल गर्ने संस्कार विकास गर्न जरुरी रहेको भन्दै आपतकालीन वा विपत्तिपछि उत्पन्न हुने मानसिक आघातबाट जोगिन समयमै परामर्श र सहयोग आवश्यक हुने बताईन ।
कार्यक्रममा क्लबकी अध्यक्ष दीपा थान्जुले युवाहरूमा मानसिक स्वास्थ्यका चुनौतीहरू पहिचान गरी समयमै सहयोग र सल्लाह उपलब्ध गराउन समाज, विद्यालय र परिवारको भूमिकाको महत्वमाथि जोड दिए । मानसिक स्वास्थ्यलाई दैनिकीको हिस्सा बनाउन, खुला संवाद र सहानुभूति संस्कृतिको विकास गर्न उनले आग्रह गरिन । कार्यक्रममा कालिका मानवज्ञान माध्यमिक विद्यालयका ४ सय बढी विद्यार्थीहरु सहभागी रहेका थिए ।