© २०२३
अन्तर्राष्ट्रिय उडानविहीन बनेको करिब ६ महिनापछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट पुनः नियमित उडान सुरु हुने खबरले यस क्षेत्रका पर्यटन व्यवसायीलाई खुसी बनाएको छ ।
थाइ एयर एसियाले यही असोज २६ (अक्टोबर १२) देखि भैरहवा–थाइल्यान्ड अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने तयारी गरेपछि भैरहवाका मात्रै होइन, लुम्बिनी प्रदेशकै जनतामा उत्साह सिर्जना भएको छ । थाइ एयर एसियालाई सातामा दुईवटा उडानका लागि अनुमति दिई सकिएको छ ।
त्यसैगरी जजिरा एयरवेजलगायत अन्य कम्पनी पनि अन्तर्राष्ट्रिय उडानको तयारीमा रहेको र तिहारपछि उडान सुरु गर्ने योजना बनाएको बताइएको छ । २०७९ साल जेठ २ गते २५६६ औं बुद्ध जयन्तीका अवसरमा औपचारिकरूपमा उद्घाटन भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रारम्भिक चरणमा नेपाल एयरलाइन्स, फ्लाई दुबई, जजिरा एयरवेज, थाइ एयर एसिया र हिमालय एयरलाइन्सले व्यावसायिक उडान गरेका थिए ।
तर, नियमित उडान निरन्तर नहुँदा भैरहवा र समग्र लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्नुपरेको अवस्था छ । विगत ६ महिनादेखि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यस क्षेत्रको पर्यटन व्यवसायमा लगानी भएको करिव एक खर्ब रुपियाँ डुब्ने चिन्ता उत्पन्न भैरहेको थियो ।
तर, पछिल्लोसमय पुनः अन्तर्राष्ट्रिय उडानको समाचारले पर्यटन व्यवसायीलाई उत्साही बनाएको छ । उडान नहँुदा धेरै व्यवसायीलाई ऋणको किस्ता र ब्याज तिर्न समेत संकट परेको अवस्थामा उडानको खबरले विश्वास बढाएको छ ।
अवको दिनमा नेपाल सरकारले समेत भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चलाउने हो भने उडान कम्पनीहरूलाई छुटको व्यवस्था गर्नुपर्दछ । त्यसो त गत दुई बर्ष अघि नै सरकारले विदेशी विमान कम्पनी आकर्षित गर्न सरकारले भैरहवा र पोखरा विमानस्थलका लागि विभिन्न छुटका व्यवस्था गरेको थियो ।
अन्तर्राष्ट्रिय यात्रु सेवा शुल्कमा तीन हजार रुपियाँसम्म छुट, पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट र इन्धनमा सय डलरसम्मको छुटको व्यवस्था गरिएको थियो ।
अहिले त्यो छुटको व्यवस्था पुनः लागू गरियोस् । अबको दिनमा काठमाण्डौंको एकाधिकार तोड्नेतर्फ भैरहवा क्षेत्रले पहल गरोस् । त्यसो त भैरहवाबाट अन्तर्राष्ट्रिय उडान नहोस भन्ने मनसाय कसैको छ भने त्यो दरिद्र मानसिकताको उपज हो ।
विगतमा यो विमानस्थलले जाडो महिनामा ठूलो समस्या भोगेको छ । विमानस्थलले भिजिबिलिटीको समस्याका कारण जाडोमा उडानमा प्राविधिक समस्या भोगिरहेको थियो तर विमानस्थलमा आरएनपी एआर प्रणाली जडान भएपछि अव त्यस्तो समस्या नआउने अवस्था भएको छ । यो खुसीको कुरा हो ।
विश्वका धेरै देशका विमानस्थलहरूमा वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ । यो प्रणाली भैरहवामा पनि लागू भैसकेकोले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचलोस् भन्नेहरूको दिवा सपना अव पूरा हुन सक्दैन् । अतः विमानस्थल चल्दैन कि भन्ने सपना बोकेर बसेकाहरूको सपना अव बिफल हुने अवस्था आएको छ ।
यसअघिको सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि लिएको पहल अत्यन्त सार्थक र महत्वपूर्ण रहेको कुरा विर्सन सकिदैन् । सरकारले नचाहेको भए यो विमानस्थल गौचरन प्रमाणित हुने अवस्था थियो ।
गत बर्ष जाडोयाममा भिजिबिलिटीको कारण देखाउँदै तीनवटा बिमान कम्पनीले उडान स्थगन गरेपनि यसैलाई तिललाई पहाड बनाउने काम भयो । अव त्यस्तो नहोस् । यो विमानस्थललाई असफल बनाउने काम कहिँकतैबाट हुनुहुँदैन ।
अवको दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान निरन्तर गर्न वायुसेवाहरूलाई प्रोत्साहित गर्नेतर्फ नयाँ सरकारको ध्यानाकर्षण होस् । अव कुनैपनि बहानामा अन्तर्राष्ट्रिय उडान रोकिने अवस्था आउनु हुँदैन ।
त्यसका लागि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान कम्पनीहरूलाई विश्वासमा लिन सक्नुपर्दछ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको नेपालको पर्यटन क्षेत्रका लागि आशाको ज्योति प्रज्वलित हुनु हो ।