© २०२३
बुटवल, २६ असोज ।
इजरायल र हमासबीच भएको सम्झौताअनुसार स्थानीय समय अनुसार शुक्रबार दिउँसोदेखि गाजामा लागू भएको युद्धविरामको ७२ घण्टाभित्र हमासले सबै ४८ बन्धक रिहा गर्नुपर्ने थियो ।
स्थानीय समयअनुसार युद्धविराम लागु भएको ७२ घण्टामा अर्थात सोमबार दिउँसो १२ बजे (नेपाली समय अनुसार दिउँसो २ : ४५ बजे) सबै जीवित र मृत बन्धक रिहा गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो ।
तर हमासले उक्त समयभित्र सबै बन्धक हस्तान्तरण गर्न नसकिने भन्दै थप समय मागेको छ । यसका कारण बन्धक रिहाइको समय अझै अनिश्चित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसैबीच, वासिङ्टन पोस्टको पछिल्लो रिपोर्टमा नेपालका विपिन जोशी पनि जीवित बन्धकको सूचीमा राखिएका छन् ।
नेपालमा यस खबरले आशा र उत्साह थपेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–३, भाँसी निवासी महानन्द जोशीको परिवारमा विपिनको सुरक्षित फिर्तीको आशा जागेको छ ।