© २०२३
काठमान्डौ, २६ असोज ।
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले युनिभर्सिटी अफ क्यालिफोर्निया डेविससँगको सहकार्यमा सञ्चालन गरेको ‘तरकारीमा लाग्ने माटोजन्य रोगहरूको व्यवस्थापन’ परियोजनाले नयाँ प्रविधिको विकास गरेको छ ।
परियोजना संयोजक डा. रामबहादुर खड्काका अनुसार परियोजनाले देशभरका मुख्य तरकारी उत्पादन क्षेत्रहरूमा ओइलाउने, जरा कुहिने, गाँठे रोग र फेद कुहिने जस्ता माटोजन्य रोगको पहिचान, प्रविधिको विकास, प्रमाणीकरण र विस्तारका लागि ३० भन्दा बढी मातृ परीक्षण र १२० भन्दा बढी शिशु परीक्षण सञ्चालन गरेको थियो ।
पाँच सयभन्दा बढी अग्रगामी किसानलाई अवायविक माटो निर्मलिकरण प्रविधि र कलमी प्रविधि सम्बन्धि तालिम दिइएको छ । धानको ढुटो र तोरीको पिनाको प्रयोग गरी अवायविक माटो निर्मलीकरण गर्दा जरा कुहिने रोग र रुट–नट निमाटोडको प्रकोप ९० प्रतिशतसम्म घटेको तथ्य पाइएको छ ।
परियोजनाले स्थानीय र आयातित मूलबृत जातको पहिचान गरी कलमी प्रविधि विस्तारमा योगदान पुऱ्याएको छ । राष्ट्रिय, प्रदेशस्तरीय र जिल्ला स्तरीय तालिममार्फत १५० भन्दा बढी किसानलाई प्रशिक्षण दिइएको थियो । साथै पाँच जना एमएससी र दुई जना विद्यावारिधि (पीएचडी) विद्यार्थीलाई अध्ययन अवसर प्रदान गरिएको थियो ।
त्यस्तै कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले परियोजनाको सफलता र प्रविधि किसानसम्म पु¥याउनुपर्ने आवश्यकतामा जोड दिए । परियोजनाका तीन प्रविधि आधारित पुस्तकहरूको विमोचन पनि गरिएको थियो ।
परियोजना तीन वर्षका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत चयन गरिएको भए पनि राजनीतिक परिस्थितिका कारण निर्धारित समयअघि नै समापन गरिएको हर्टिकल्चर इनोभेसन ल्याबका क्षेत्रीय व्यवस्थापक कृष्ण सापकोटाले जानकारी दिए ।