Butwal Today

कमनवेल्थ गेम्स ओलम्पिक स्वर्णपदक विजेता जोन केलाई नेपालगञ्जमा

२६ आश्विन २०८२, आइतबार
अ+
अ-

नेपालगञ्ज, २६ असोज ।

विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्णपदक विजेता केन्याका धावक जोन केलाई नेपालगञ्ज आइपुगेका छन् । उनी धारा नेपालगञ्ज म्याराथनको निमन्त्रणामा नेपालगञ्ज आएका हुन् ।

नेपालगञ्ज विमानस्थलमा धारा नेपालगञ्ज म्याराथनका संस्थापक टी.एस. ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भिम ओलीले लिजेन्ड धावक केलाईलाई विशेष स्वागत गरेका छन् ।

रेस डाइरेक्टर गुरुङका अनुसार, धावक केलाई ८८धारा नेपालगञ्ज म्याराथनको भगिनी रनिङ इभेन्ट ‘गौघाट ग्रीन रन’८८मा अतिथि धावकको रूपमा सहभागी हुनेछन् । केलाईले दौड प्रतियोगितामा स्थानीय र स्कुले धावकहरूसँगै दौडेर उनीहरूलाई प्रेरित गर्ने कार्यक्रम रहेको छ ।

सन् २००३ देखि २०१० सम्म उनले ८८मुम्बई म्याराथन (भारत), इन्सेद म्याराथन (नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन (क्यानडा), सिंगापुर म्याराथन र ब्रसेल्स म्याराथन (बेल्जियम) ८८ मा विजेता बनेर विश्व खेल जगतमा विशेष पहिचान बनाएका छन् ।

उनीलाई अन्तर्राष्ट्रिय म्याराथन जगतका विज्ञ धावकका रूपमा मानिन्छ । गौघाट ग्रीन रन खजुरा गाउँपालिका–सितापुरमा गत वर्षदेखि सुरु गरिएको पर्यावरणमैत्री दौड हो । “प्लास्टिकमुक्त, हरियाली गाउँ” निर्माण गर्ने लक्ष्यका साथ सुरु गरिएको यो रनले बालबालिकालाई बढ्दो तापक्रम र वातावरणीय प्रभावबारे सचेत गराउने उद्देश्य लिएको छ ।

यस वर्षको ग्रीन रन असोज २८ गते (मंगलवार) बिहान ७ बजे हुनेछ । खजुरा गाउँपालिकाका विद्यालयका छात्र–छात्रा र खुला समूहका धावक गरी चार विधामा प्रतिस्पर्धा हुनेछन् । यो नेपालकै पहिलो पूर्ण “ग्रीन अवधारणामा आधारित दौड” हो ।

रेस डाइरेक्टर गुरुङका अनुसार, यसपटक १०० भन्दा बढी धावक सहभागी हुनेछन्, जबकि गत वर्ष ४२ जना मात्र सहभागी भएका थिए । ग्रीन रनमा मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान पनि सहभागी हुने भएकी छन् ।

श्रृच्छाको अध्ययन र रुचिको विषय वातावरणीय सचेतना भएकाले उनी यो अभियानसँग जोडिएकी हुन् । धारा नेपालगञ्ज म्याराथनका संस्थापक टी.एस. ठकुरीका अनुसार, श्रृच्छा प्रधान ग्रीन रनकी एम्स दूत समेत रहेकी छन् । सोमबार धावक जोन केलाई र मिस नेपाल श्रृच्छा प्रधानसँग नेपालगञ्जका जनप्रतिनिधि, पत्रकार र नागरिक अगुवाहरूको भेटघाट कार्यक्रम आयोजना गरिएको छ ।

यस्तै, धारा नेपालगञ्ज म्याराथनको ११औँ संस्करण मंसिर ६ गते, शनिबार हुने भएको छ । दर्ता प्रक्रिया सुरु भइसकेको आयोजकले जनाएको छ । यस वर्षको संस्करणमा प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी तथा स्वयंसेवीहरूलाई अन्तर्राष्ट्रिय एक्सपोजरका अवसर प्रदान गर्ने तयारी गरिएको छ । धारा म्याराथनका संस्थापक टी.एस. ठकुरीका अनुसार, यसका लागि थाइल्यान्डको वल्र्ड–क्लास ‘बाङ्सेन रनिङ सिरिज’सँग औपचारिक सम्झौता भइसकेको छ, साथै अन्य अन्तर्राष्ट्रिय म्याराथन आयोजकहरूसँग पनि सहकार्यको तयारी भइरहेको छ ।

नेपालगञ्जमा जोन केलाईको आगमनसँगै खेलकुद प्रेमीहरूमा उत्साह छाएको छ । अन्तर्राष्ट्रिय धावकको सहभागिताले नेपालगञ्जलाई खेल पर्यटनको नयाँ गन्तव्यका रूपमा उचाल्ने आयोजकहरूको विश्वास छ ।