Butwal Today

मेरो कोखको जेन-जी 

२५ आश्विन २०८२, शनिबार
अ+
अ-

हे सरकार !
गोली किन बर्षायौ तिमीले ?
निर्दोष त्यो छातीमा ?

आमाको करुणा डुब्छ,
रक्ताम्मे घाँटीमा
कापी कलम बोकेका हातहरू
किन बाँधिएँ शृङ्खलामा ?

किन खसाइयो गोलाको आगो,
त्यो तन्नेरी सपनामा ?
मायालु आँखा, झिम्कन नपाउँदै,
बन्द भए सदालाई
मेरो हृदय च्यातियो,
करुण चित्कार आयो गगन छुनलाई
हे सत्ता !

किन तिमीलाई ?
कुर्सी मात्र प्रिय भो ?
आमाको गर्भ के ?
सधैँ बलीको चिहान हो ?
नारा उठाए मेरा सपुतले
भविष्य हाम्रा हातमा,
तर भविष्य नै ढल्छ, रगतमा
माताको काखमा

भर्खर नै हो, कलिलो मेरो छोरो
कवितामा देश खोज्थ्यो,
आफ्नो भाग्य पाना पाना,
उज्यालो भोली लेख्थ्यो
तर अफसोस, आज
उसका अक्षर,
टुटेका छन्,

रगतसँग सडकमा विलीन भएका छन्
खाइ नखाई हुर्काएको, मेरो सपना
तिम्रो एउटा गोलीले लियो,
मेरो गर्भको इमानदारी किन ?
तिम्रो राजनीतिले धोका दियो ?
न्याय कता हरायो ?
खोज्दा कतै भेटिन्न,
सत्ताको निस्पट्ट अन्धकार
किन कहिल्यै मेटिन्न ?

कुर्सी टिक्छ क्षणभर
न्याय टल्छ केही पालामा
आमाको श्राप जल्छ
युगौँ युग विशाल ज्वालामा
मेरो सन्तान ढल्यो,

तर उसको स्वर कहिल्यै मर्दैन
संसार भरी गुन्जन्छ,
न्याय कहिल्यै चुप बस्दैन
रगतका थोपा थोपा,

पुग्छन् स्वर्ग उज्यालामा
सहिदका आवाज,
चिरामय बन्छन् यसै गगनमा…

प्रसादी एकेडेमी, 
 कक्षा १२