© २०२३
समाचार सारांशमा ।
बाँके जिल्लाका सहकारी संस्थामा आवद्ध महिलाले यस वर्षको दसैंमा खसी–बोका बिक्रीबाट ठूलो आर्थिक लाभ उठाए ।
जिल्लाका १४ वटा महिला सहकारी संस्थामार्फत रु. २ करोड ३८ लाख १० हजार ८१७ बराबरका १,३५१ वटा खसी–बोका बिक्री ।
बिक्री भएका खसी–बोकाको कुल तौल ४३,५९३ किलो ।
नेपालगन्ज, २५ असोज ।
बाँकेका सहकारीमा आबद्ध महिलालाई यस वर्षको दसैँले आर्थिक खुसी र आत्मविश्वासको सन्देश दिएको छ । जिल्लाका विभिन्न सहकारी संस्थामार्फत दुई करोड रुपैयाँभन्दा बढी मूल्यका खसी बोका बिक्री भएसँगै बाँकेका वन क्षेत्रका गाउँहरूमा उत्साह छाएको छ ।
दसैँ सुरु भएदेखि असोज २० गतेसम्म जिल्लाका १४ वटा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेड मार्फत दुई करोड ३८ लाख १० हजार ८ सय १७ रुपैयाँ बराबरका १ हजार ३ सय ५१ वटा खसी बोका बिक्री भएर देशका विभिन्न सहरमा निर्यात भएका छन् ।
यी खसी बोकाको तौल झन्डै ४३ हजार ५ सय ९३ किलो रहेको सहकारी महासङ्घले जनाएको छ । सबैभन्दा बढी कारोबार राप्ती सोनारी–९ ढकेरीस्थित सङ्घर्षशील सामाजिक उद्यमी महिला सहकारी संस्थाले गरेको छ ।
संस्थाका प्रबन्धक भूपेन्द्र खड्काका अनुसार संस्थाले ३१ लाख ८१ हजार ७ सय ५० रुपैयाँ बराबरका ५ हजार ७ सय ८५ किलो तौल भएका १ सय ७८ वटा खसी बोका बिक्री गरेको हो ।
“हामीले यस पटक मागअनुसारका खसी बोका पठाउन निकै व्यस्त भयौँ,” प्रबन्धक खड्का भन्छन्, “महिला सदस्यहरू आफैँले पालनपोषण गरेका खसी बोका बजारमा पठाउँदा गर्व लागेको छ ।”
त्यसपछि राप्तीसोनारी–७ लालपुरस्थित परिवर्तन सहकारी संस्था दोस्रो स्थानमा रह्यो । संस्थाका व्यवस्थापक पम्फा परियारका अनुसार, संस्थाले ३१ लाख ६८ हजार ८ सय ७० रुपैयाँ बराबरका ५ हजार ९ सय ७९ किलो तौल भएका २ सय १३ वटा खसी बोका बिक्री गरेको छ ।
राप्तीसोनारी–७ फत्तेपुरस्थित रोशनी सहकारीले पनि राम्रो कारोबार गरेको छ । संस्थाका व्यवस्थापक नसरुदिन शेषका अनुसार, २५ लाख ८३ हजार ९ सय रुपैयाँ बराबरका ४ हजार ७ सय ८५ किलो तौल भएका १ सय ४५ वटा खसी बोका बिक्री भएका छन् ।
राप्ती सोनारी २ खोरियास्थित जननी सहकारीले पनि २४ लाख २७ हजार ३६० रुपैयाँ बराबरका ४ हजार ४ सय ७१ किलो तौल भएका १ सय ४८ वटा खसी बोका बजारमा पठाएको प्रबन्धक गणेश खत्री बताउँछन् ।
त्यस्तै, कुसुम सहकारीले २३ लाख ६५ हजार ८ सय २५ रुपैयाँ बराबरका ९५ वटा खसी बोका र धामपुरस्थित सुनकोशी सहकारीले २० लाख ३३ हजार २७ रुपैयाँ बराबरका १ सय ११ वटा खसी बोका बिक्री गरेको छ ।
त्यसै गरी राप्तीसोनारी –४ धामपुरस्थित सुनकोशी सामाजिक उद्यमी महिला सहकारी संस्थाले २० लाख ३३ हजार २७ रुपैयाँका खसी बोका बिक्री गरेको व्यवस्थापक दिपा पुनले जानकारी दिइन् । उनका अनुसार ३ हजार ६ सय ५३ किलोग्राम तौल बराबरका १सय ११ वटा खसी बोका बिक्री भएका थिए ।
बैजनाथ –४ एकासीनगरस्थित बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाले १९ लाख ७५ हजार रुपैयाँका खसी बोका बिक्री गरेको व्यवस्थापक प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार ३ हजार ५ सय ९० किलोग्राम तौल बराबरका १ सय १० वटा खसी बोका बिक्री भएका हुन् ।
राप्तीसोनारी –६ टेपरीस्थित नयाँ सृजनशील सामाजिक सामाजिक उद्यमी महिला सहकारी संस्थाले १८ लाख ८८ हजार ४ सय २५ रुपैयाँ बराबरका ३ हजार ४ सय ३३ किलो तौल भएका १सय ४ वटा खसी बोका बिक्री भएको प्रबन्धक दिव्या गुरुङले बताइन् ।
अप्सरा सामाजिक उद्यमी महिला सहकारी संस्थाले ११ लाख ५७ हजार ८ सय रुपैयाँ बराबरका खसी बोका बिक्री गरेको व्यवस्थापक झुपा विष्टले बताइन् । उनका अनुसार २ हजार १७ किलोग्राम तौल बराबरका ६७ वटा खसी बोका बिक्री भएका हुन् ।
बैजापुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले १० लाख ६३ हजार ९सय १० रुपैयाँ बराबरका खसी बोका बिक्री गरेको छ । व्यवस्थापक चन्द्र थारुका अनुसार १ हजार ९ सय ४५ किलोग्राम बराबरका ६१ वटा खसी बोका बिक्री गरिएको हो ।
कोहलपुर सामाजिक उद्यमी महिला सहकारी संस्थाले १० लाख ३६ हजार ७ सय ४० रुपैयाँका खसी बोका बिक्री गरेको व्यवस्थापक नवीन साहुले जानकारी दिए । उनका अनुसार १ हजार ८ सय ६८ किलोग्राम तौल बराबरका ६० वटा खसी बोका बिक्री भएका हुन् ।
सशक्तीकरण सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ लाख ९२ हजार ९ सय ७५ रुपैयाँका खसी बोका बिक्री गरेको लेखापाल उमेशराज कठायतले जानकारी दिए । उनका अनुसार ७ सय १४ किलोग्राम तौल बराबरका २३ वटा खसी बोका बिक्री भएका हुन् ।
बैजनाथ–८ टिटहरियामा रहेको दिपलगन सामाजिक उद्यमी महिला सहकारी संस्थाले ३ लाख ५९ हजार ६ सय ६० रुपैयाँका खसी बोका बिक्री गरिएको व्यवस्थापक गौमती गुरुङले जानकारी दिइन् ।
उनका अनुसार ६ सय ७७ किलोग्राम तौल बराबरका २३ वटा खसी बोका बिक्री भएका छन् । सङ्गिनी सामाजिक उद्यमी महिला सहकारी संस्थाले १ लाख ७५ हजार ६ सय ५ रुपैयाँका खसी बोका बिक्री गरेको व्यवस्थापक पार्वती खत्रीले जानकारी दिइन् ।
उनका अनुसार ३सय ३७ किलोग्राम तौल बराबरका १३ वटा खसी बोका बिक्री भएका हुन् । राप्तीसोनारी गाउँपालिका यस वर्ष पनि जिल्लामा बाख्रा पालनको मुख्य केन्द्र बनेको छ । यहाँका अधिकांश सहकारी संस्थाहरू बाख्रा पालनमा संलग्न छन्, र महिलाहरू यो पेसाबाट आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् ।
राप्ती सोनारीमा जङ्गल क्षेत्र प्रशस्त भएका कारण बाख्रा पालन सहज बनेको छ । बाँके जिल्लाका सहकारी संस्थाहरूले किसानसँग प्रत्यक्ष रूपमा खसी बोका खरिद गर्छन् । त्यसपछि सहकारीले जिल्ला बाहिरका व्यापारीलाई प्रतिकिलो १० रुपैयाँसम्म नाफा राखी बिक्री गर्छन् ।
सामान्य दिनहरूमा भन्दा दसैँ–तिहारका समयमा खसी बोका बिक्री धेरै हुने गर्दछ, जसले सहकारी र किसान दुबैलाई आर्थिक राहत पु¥याउने गरेको सृजनशील सामाजिक सामाजिक उद्यमी महिला सहकारी संस्थाका दिव्या गुरुङले बताइन्, “हामीले महिलालाई बाख्रा पालनका तालिम, सस्तो ऋण र बजार पहुँचका लागि सहुलियत दिएका छौँ ।
अहिले सदस्यहरूले आफ्नै खसी बोका बेचेर राम्रो आम्दानी गर्न थालेका छन् ।” पछिल्ला वर्षहरूमा बाँके जिल्लामा बाख्रा पालनमा महिलाको उल्लेख्य सहभागिता देखिन्छ । धेरै महिलाहरूले आफ्नै घरको खाली ठाउँमा खोर बनाएर खसी बोका पाल्ने गरेका छन् ।
दसैँमा खसी बोका बिक्रीले उनीहरूलाई राम्रो आम्दानी मात्र होइन, आत्मविश्वास पनि दिएको छ । राप्ती सोनारी २ कचनापुरकी झलकुमारी ओली भन्छिन्, “पहिले श्रीमान्को आम्दानीमै निर्भर थियौँ, तर अहिले आफ्नै खसी बोका बेचेर आम्दानी गर्न पाउँदा गर्व लाग्छ ।
सहकारीको सहयोगले हाम्रो जीवन बद्लिँदै छ ।”यस वर्ष जम्मा १४ वटा सहकारीबाट २ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार हुनु आफैँमा ठुलो उपलब्धि हो ।
आगामी वर्ष सहकारीहरूले उत्पादन बढाउने, बजार विस्तार गर्ने र खसी बोकाको गुणस्तर सुधारमा ध्यान दिने योजना बनाएका छन् । जिल्ला पशु सेवा कार्यालयका अनुसार, बाँकेमा हाल बाख्रा पालनमा संलग्न किसानको सङ्ख्या लगातार बढ्दो छ ।
कार्यालयका एक अधिकृतले भने, “यदि यो प्रवृत्ति यस्तै निरन्तर रह्यो भने बाँके केही वर्षमै प्रदेशको प्रमुख बाख्रा पालन केन्द्र बन्न सक्छ ।” बाँकेका सहकारीहरूले दसैँमा बाख्राको बजार सम्हालेर नाफा मात्र होइन, महिला उद्यमशीलताको सशक्त उदाहरण देखाएका छन् ।