Butwal Today

बुद्धमंगल ताल क्षेत्रमा सरसफाइ

२५ आश्विन २०८२, शनिबार
अ+
अ-

नवलपरासी, २५ असोज ।

जिल्लाको बर्दघाट नगरपालिका १२ दविला स्थित बौद्धकालीन पर्यटकीय स्थल (बुद्धमंगल ताल) क्षेत्रको सरसफाइको अभाव देखिएको छ । सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्रय पर्यटकहरूले पूर्वाधार ब्यवस्थानमा सरोकारवालाले काम गरे पनि सरसफाइमा ध्यान नगएको गुनासो गरेका हुन् ।

धर्म संस्कृति तथा परम्परामा आधारित रहेर स्थानीयले संरषण गर्दै आएको उक्त स्थानको खोजी र पहिचान भई बौद्धकालीन प्राचीन कोलिय गणराज्यको एक अभिन्न अङ्गको रूपमा रहेको प्राचीन हल्लिदावस नगरको रूपमा चिनिने भएपछि बर्दघाट नगरपालिका र लुम्बिनी प्रदेश सरकारले समेत पूर्वाधार विकास तथा संरक्षणका कार्य गर्दै आएको थियो ।

वर्दघाट नगरपालिकाले उक्त पर्यटकीय क्षेत्र बुद्धमंगल ताल क्षेत्रमा पर्यटन पूर्वाधार थपिदा आकर्षित हुँदै गएको थियो । तालको बिचमा भगवान् बुद्धको मूर्ति प्रस्थापनसँगै चक्रमण गर्ने र ताल भरि ढकमक्क कमलको फूल फूलेको हुँदा पर्यटकलाई लोभ्याउने गरेको थियो । तर केही समय देखी सो क्षेत्रमा सरसफाइका कार्य अभाव देखिएको आउने पर्यटकहरूले सुनाएका थिए ।

सरसफाइ सम्बन्धी गुनासो आएको नगरपालिकाका योजना अधिकृत पुस्कर काफ्लेले पनि स्वीकार गर्दै चाडै नै नगरप्रमुखसँग छलफल गरी सरसफाइ तथा सौन्दर्यीकरणका कार्य गरिने बताए ।

विगत भन्दा बजेट कम भएको भए पनि भएकै पूर्वाधारलाई सफा सुग्घर बनाई राख्ने, सौन्दर्यीकरण गर्नमा स्थानीय सहभागिता जुटाएर पनि गर्न सकिने उनको भनाई थियो ।

बौद्ध परिपथमा समावेश भए पछि लुम्बिनीमा आउने पर्यटकलाई यो बुद्धमंगल पनि एक बौद्ध तीर्थ स्थल भएको जानकारी पश्चात् धार्मिक पर्यटक बढ्ने आशाका साथमा पर्यटन पूर्वाधारमा लगानी वृद्धि गरिएको थियो ।

प्राचीन कालमा कोलिय गणराज्य अन्तर्गत रहेका विभिन्न १२ वटा नगर मध्ये यो हल्लिदावसन नगरमा पनि भगवान् बुद्ध आफ्नो भिक्षु सङ्घ सहित आएका थिए । चार ब्रम्ह विहार सहितको मित्त सुत्त समेत यसै स्थानमा गरेको बौद्ध इतिहासका जानकार डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले जानकारी गराए ।

दुई बर्ष पहिला तत्कालीन नगर प्रमुख धिरज शर्मा बस्यालले प्राचीन हल्लिदावस भएको घोषणासँगै बौद्ध भिक्षुहरूलाई भोजनदान गराई यसको महत्त्व उजागर गराएका थिए ।

अहिले पनि नगरपालिकाले सो क्षेत्रका लगानी गर्दै पर्यटन पूर्वाधार थप्ने कार्य गरेको भए पनि यसलाई प्रचार प्रसार गर्दै व्यापकता दिन नसकेको स्थानीयवासीले बताएका छन् । बौद्ध इतिहास र साहित्यको अध्ययन गर्ने बौद्ध धर्मावलम्बीहरू आउने गरेको भए पनि लुम्बिनीमा आउने पर्यटकलाई चाहे जति ल्याउन नसकिएको उनको भनाइ थियो ।

बेला बेलामा नगरपालिकाले आफ्नो नगर प्रहरी परिचालन गर्दै आउनुको साथै तालमा विहार गर्नका लागि डुङ्गाको समेत व्यवस्थापन गरेको छ । पिकनिक खानका लागि आवश्यक पूर्वाधार, भवन टहरा बनाई दिएको छ ।

सोही परिसरमा हिन्दु धर्मावलम्बीहरूको शिवालय सहित एक सय शिवलिगँको स्थापना गरिएको छ, भने अर्को तर्फ बौद्ध धर्मावलम्बीहरूको बौद्ध विहार समेत रहेको छ ।

प्राचीन कालमा भगवान् बुद्ध यस स्थानमा आउँदा बौद्ध भिक्षु र केही स्थानीय साँधूँ बिच विवाद सृजना भएको उल्लेख छ । उल्लेखित इतिहासको अनुसार नै विगतदेखि एउटा कुनामा हिन्दुसँग आस्था राख्ने साँधूँ सन्तहरू बस्दै आएका छन्,अर्को तर्फ बौद्ध धर्मालम्बीहर बौद्ध विहारमा आफ्ना कार्यक्रमहरू गर्ने गरेका छन् ।

बौद्ध साहित्यहरूमा उक्त स्थानबारे उल्लेख गरिए अनुसारका पूर्वाधार बनाउनमा नगरपालिका लागेको उनको दाबी थियो । अगामी दिनमा चार कुनामा चार ब्रम्ह विहारको महत्त्व झल्किने गरी चार स्तम्भ निर्माण गर्ने योजना समेत रहेको छ ।

प्राचीन कालमा यो नगरको स्थापना गर्दा स्थानीयले हल्दि (बेसार) मा रंगिएको कपडा लगाएर नगरको स्थापना गरेका थिए ।

हल्दिलाई अहिले पनि मंगल (शुभ) को प्रतिक मान्ने गरिन्छ । भगवान् बुद्ध समेत यस स्थानमा आएको हुँदा प्राचीन काल देखि नै बुद्धमंगल क्षेत्र र हल्दिमा रंगिएको कपडा लगाएर नगर बसाईएको हँुदा हल्लिदावन नगर भनेर बौद्ध साहित्यमा उल्लेख भएको पाईन्छ ।

गोवतीक तपस्वी पुष्प कोलिय पुत्रको जन्म यहिँ भूमिमा भएको थियो । यसै प्रकारले कुक्कुट चैत्य,अचेल सेसिक पनि यहीँका निवासी थिए । उनी पनि आफ्नो आश्रम बनाएर प्रचार प्रसार गर्दथे । भगवानले संयुक्तको प्रसिद्ध मैत्र सुत्र (मेत्ता सुत्त) को उपदेश यहीँ गरेका थिए ।

भगवानले कुक्कर ब्रतिकलाई उपदेश यहीँ दिएका थिए । प्राचीन कोलिय गणराज्य भित्रै यो हल्लिदावस भएको कुरा र कोलिय पुत्रलाई समेत उपदेश दिएको कुराले कोलिय क्षेत्र भित्रै यो नगर हो । चार ब्रम्ह विहार भनेको करुणा, मैत्री, मुदिता र उपेक्षा हो ।

भगवान् बुद्धले स्थानीय साँधूँ र भिक्षुहरू बिचको विवाद समाधान गर्नका लागि नै यो चार ब्रम्ह विहारको धर्मोपदेश दिएका थिए ।
अहिले लुम्बिनी सिद्धार्थ गौतमको जन्म स्थल हो, तर तिनै सिद्धार्थ गौतम बुद्धत्व प्राप्ति पछि पाएको ज्ञान विभिन्न स्थानमा गएर धर्मोपदेशको रूपमा सुनाउने गरेका थिए ।

तिनै धमौपदेशको गाथा नै त्रिपिटक अन्तरगतको २४ हजार सुत्तको रूपमा रहेको छ । सिद्धार्थको जन्म स्थलको भ्रमण गर्नुले भगवान् गौतम बुद्ध प्रति श्रद्धा विकसित गर्छ, तर आम रूपमा अशान्त मन भएका मानिसहरूलाई बुद्धको ज्ञान प्राप्त गरी सुख शान्ति तथा निर्वाणिक अवस्थाका लागि उनले विभिन्न स्थानमा गरेको धर्मोपदेश नै महत्त्वपुर्ण छ ।

त्यो भएर पनि यो बुद्धमगंल ताल क्षेत्र एक पवित्र बौद्ध तीर्थ स्थल पनि हो । यसको महत्त्व उजागर हुन नसकेर अहिलेसम्म ओझेलमा रहेको छ । आधुनिक संसारमा भौतिकवादी प्रभुत्व बढदै त्यसले असन्तोष र अशान्तिको स्वरूपमा पनि वृद्धि हँुदै गइरहेको अवस्थामा यो चार ब्रम्हविहारको सन्देशलाई मनन गरी व्यवहारमा पालन गर्न सकियो भन्ने शान्तिको स्रोत बन्ने विश्वास पनि रहेको छ ।