© २०२३
काठमान्डौ, २४ असोज ।
गत भदौ २३–२४ मा भएको जेनजी आन्दोलनको क्रममा सुरक्षा निकायले अपनाएको भूमिकाबारे गम्भीर प्रश्न उठाउँदै उच्चस्तरीय जाँचबुझ आयोगमा छानबिनको माग गर्दै निवेदन परेको छ । निवेदन काठमाडौँ उपत्यकामा कार्यरत पीडित प्रहरी कर्मचारीको नाममा दर्ता भएको हो ।
निवेदनमा सरकार अपदस्त भएको घटनाक्रम स्मरण गर्दै आन्दोलनका क्रममा सुरक्षा निकायको जिम्मेवारी र कार्यशैलीमा शङ्का व्यक्त गरिएको छ । भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवनमाथि आन्दोलनकारीको आक्रमण हुँदा सुरक्षाकर्मीहरूले कुनै सक्रिय प्रतिक्रिया नजनाई आगजनी गर्न दिइएको र कर्फ्यु आदेशमा नेपाली सेना परिचालित नहुनु शङ्कास्पद भएको उल्लेख छ ।
साथै, प्रहरीले हतियार लुट्न दिई सर्वसाधारणको पहुँचमा पुर्याएको, जसले देशलाई गृहयुद्धको सम्भावित जोखिममा धकेलेको उल्लेख निवेदनमा गरिएको छ । निवेदनमा तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री, आईजीपी, एआईजीपी र अन्य उच्च अधिकारीहरूले घटनाको जिम्मेवारी लिनुपर्ने माग गरिएको छ ।
त्यसैगरी, रवि लामिछानेलाई नख्खु कारागारबाट मुक्त गर्न प्रहरी अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्यालसहित अन्यको संलग्नता भएको आशङ्का पनि निवेदनमा उल्लेख गरिएको छ । निवेदनमा यस घटनाले नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर असर पुर्याएको र उच्चस्तरीय छानबिन आवश्यक रहेको जोड दिइएको छ ।