© 2026
काठमाडौं ।
प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइएको खण्डमा राजीनामा दिने चेतावनी दिएको भन्ने समाचारको खण्डन गरेका छन् ।
शुक्रबार प्रहरी महानिरीक्षकको सचिवालयले एक विज्ञप्ति जारी गर्दै, खापुङले कहीँ कतै पनि त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको स्पष्ट पारेको हो ।
सचिवालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसँग भएका सुरक्षा बैठकहरूमा समसामयिक घटनाक्रम र त्यसबाट उत्पन्न भएका सुरक्षा चुनौतीहरूबारे सौहार्दपूर्ण छलफल मात्र भएको हो ।”
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बैठक शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित रह्यो । अन्य कुनै विवादास्पद वा राजनीतिक दबाबसँग सम्बन्धित विषयमा कुनै पनि अभिव्यक्ति दिइएको छैन ।”
विज्ञप्तिमा सार्वजनिक रूपमा आएको भ्रामक समाचारप्रति आपत्ति जनाउँदै अनावश्यक अड्कलबाजी नगर्न पनि अनुरोध गरिएको छ ।
