© २०२३
काठमान्डौ, २४ असोज ।
नेपाली कांग्रेसको संस्थापन पक्ष आगामी मंसिरमै पार्टीको महाधिवेशन नगर्ने मतमा उभिएको छ । बिहीबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा संस्थापन पक्षका नेताहरूले मंसिरमा समय अपुग भएकाले महाधिवेशन गर्न सम्भव नदेखिएको बताएका छन् ।
बैठकमा सहमहामन्त्रीद्वय महेन्द्र यादव र उमाकान्त चौधरी तथा पूर्वउपसभापति विमलेन्द्र निधिले धारणा राख्दै मंसिरमा नियमित महाधिवेशन गर्न समय नपुग्ने निष्कर्ष प्रस्तुत गरेका थिए ।
पूर्वउपसभापति निधिले पार्टीलाई तत्काल महाधिवेशनको तयारीमा होइन, सरकारले घोषणा गर्न लागेको आम निर्वाचनमा केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए ।
त्यस्तै, सहमहामन्त्री यादव र चौधरीले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य नसकिएकाले मंसिरमा महाधिवेशन सम्भव नभएको बताएका थिए । उनीहरूका अनुसार क्रियाशील सदस्यता वितरणको जिम्मेवारी पाएकाहरूले समयमा काम सम्पन्न नगरेकाले अब तत्काल तयारी गर्न सकिने अवस्था छैन ।
कांग्रेसले करिब एक वर्षअघि महामन्त्री गगन थापाको नेतृत्वमा क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको थियो । तर समितिले अहिलेसम्म नवीकरण प्रक्रिया सम्पन्न गर्न नसकेकाले नयाँ सदस्यता वितरणको काम सुरु हुन सकेको छैन ।
बैठकपछि प्रवक्ता डा। प्रकाशशरण महतले पनि मंसिरमा महाधिवेशन गर्न कठिनाइ हुने धारणा बैठकमा आएको जानकारी दिए ।
यद्यपि, पार्टीभित्रको इतर समूहका नेता डा। शेखर कोइरालाले भने निर्धारित म्यादमै नियमित महाधिवेशन गर्नुपर्ने अडान व्यक्त गरेका छन् ।
महामन्त्री गगन थापाले पनि वर्तमान कार्यसमितिको म्याद मंसिरसम्म मात्र रहेको उल्लेख गर्दै म्याद थप्ने कुनै प्रस्ताव नलैजाने स्पष्ट पारे ।