Butwal Today

सुन तस्करी प्रकरण : महराविरुद्ध अख्तियारले मुद्दा दायर गर्ने तयारी

२४ आश्विन २०८२, शुक्रबार
अ+
अ-

काठमान्डौ, २४ असोज ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा संलग्न रहेको भनिएको विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि मुद्दा दायर गर्ने तयारी गरेको छ ।

अख्तियारका अनुसार यस प्रकरणमा सार्वजनिक पदाधिकारी समेत संलग्न भएकाले भ्रष्टाचारसम्बन्धी मुद्दामा कारबाही अघि बढाउने प्रक्रिया सुरु गरिएको हो । आयोगले बिहीबार महरासँग बयान लिई अन्तिम तयारी चरणमा पुगेको जनाएको छ ।

अख्तियारको टंगालस्थित मुख्यालयमा दिनभर बयान लिएपछि एक अधिकारीले जानकारी दिँदै भने, ‘बयानको क्रम लगभग सकिएको छ, अब मुद्दा दायर गर्ने अन्तिम तयारी भइरहेको छ ।’

महरालाई यसअघि २०८० चैत ५ गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले यसै प्रकरणमा पक्राउ गरी पाँच दिनसम्म हिरासतमा राखेको थियो । तर, त्यसबेला मुद्दा दायर नगरी रिहा गरिएको थियो ।

भेपको आवरणमा तस्करी गरिएको करिब ९ किलो सुन प्रकरणमा महराका छोरा राहुल महरा पहिले नै पक्राउ परेका छन् । अनुसन्धानका क्रममा राहुलको चिनियाँ नागरिकहरूसँग प्रत्यक्ष सम्पर्क रहेको, साथै विमानस्थल भन्सार कार्यालयका कर्मचारीलाई सुन छुटाउन दबाब दिएको प्रमाण फेला परेको छ ।

अख्तियारका एक अनुसन्धान अधिकृतका अनुसार, ‘महराले पदको दुरुपयोग गरी तस्करलाई सहयोग पुर्‍याएको देखिन्छ । अन्य निकायले प्रारम्भिक अनुसन्धान गरे पनि मुद्दा नचलाएपछि अख्तियारमा फाइल पठाइएको थियो । अब अनुसन्धान पूरा भई अभियोजन चरणमा पुगेको छ ।’

२०७९ पुसमा भन्सार विभागले ९ किलो ११.५२४ ग्राम सुन इलेक्ट्रोनिक सिगरेटभित्र लुकाएर ल्याएको अवस्थामा बरामद गरेको थियो । चिनियाँ नागरिकहरूले यो सुन भन्सार कर्मचारीको मिलेमतोमा चोरेर पुनः सिगरेट राखिदिएको अनुसन्धानले देखाएको छ ।

भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठका अनुसार, उक्त सुन छुटाउनका लागि सुरुमा श्यामसुन्दर साह मार्फत दबाब आएको र पछि कृष्णबहादुर महरा र उनका छोरा राहुलले फोन गरेर दबाब दिएको पुष्टि भएको छ ।

महराले भने आफूले चिनियाँ व्यापारीहरू सुन व्यवसायी नभई फलफूल व्यापारी भएको विश्वासमा सम्पर्क गरेको बताउँदै आरोप अस्वीकार गरेका छन् ।

यसअघि न्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा बनेको उच्चस्तरीय जाँचबुझ आयोगले पनि महरामाथि कारबाही गर्न सिफारिस गरेको थियो । आयोगको प्रतिवेदनका आधारमा नै अख्तियारले थप अनुसन्धान अघि बढाएको हो ।

यस प्रकरणमा सुन ल्याउने, भन्सारबाट चोर्ने र बेच्ने गरी तीनवटा समूह संलग्न रहेको खुलासा भएको छ । महरा र उनका छोरा राहुलको सम्बन्ध सुन ल्याउने तथा बेच्ने दुवै समूहसँग रहेको अनुसन्धानमा प्रष्ट भएको छ ।

मुख्य अभियुक्तहरूमध्ये चिनियाँ नागरिक लुइ र दावाजिङ वाङ, नेपाली नागरिक लोकेन्द्र पौडेल, श्याम शाह, अश्विन र खुवाप्रसाद न्यौपाने सुन ल्याउने समूहमा रहेका छन् । भन्सारबाट सुन चोर्ने समूहमा दिनेश बस्नेत, निर्मल विक, रेवन्त खड्का, दीपेश बस्नेत, गोपाल सुवेदी र विश्वराम खड्का रहेका छन् । सुन किन्ने समूहका प्रमुख भने व्यापारी वेदप्रकाश अग्रवाल रहेको अनुसन्धानमा उल्लेख छ ।

यसरी विभिन्न निकायको प्रारम्भिक अनुसन्धानपछि अख्तियारले अन्ततः महरा लगायतमाथि मुद्दा दायर गर्ने तयारी थालेको पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?