© २०२३
काठमाडौँ ।
टिकटक भिडियो बनाउन खोलामा हामफालेका बाराका एक युवाको ६ दिनपछि शव फेला परेको छ । मृतक बारा जिल्लाको प्रसौनी गाउँपालिका–२ निवासी २१ वर्षीय विकी गोसाइँ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
लगातारको अविरल वर्षाका कारण असोज १९ गते, दुधौरा खोलाको पुलबाट हामफालेर टिकटक भिडियो बनाउने क्रममा बेपत्ता भएका गोसाइँको शव गण्डक जाने बङ्गरी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार, आइतबार बिहान ८:३० बजे दुधौरा खोलाको पुलबाट हामफालेका गोसाइँको शव सशस्त्र प्रहरी, नेपाली सेना र गोताखोरको संयुक्त टोलीको खोजीपछि फेला परेको हो ।
गोसाइँसँगै हामफालेका २० वर्षीय अनुराग केशरवानी भने पौडेर जिवितै नदी किनारमा आइपुगेका थिए ।
खोजी कार्यमा इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठ, नेपाली सेनाका लप्टन नीरज राईको कमाण्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजङ्ग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमाण्डमा १० जना सहित ४३ जनाको टोली खटिएको थियो ।
टोलीले मोटरबोट र गोताखोरको सहयोगमा खोजी अभियान सञ्चालन गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरी विपद् व्यवस्थापन गण निजगढका प्रहरी नायब उपरीक्षक सन्दीप अर्यालको नेतृत्वमा खोलाको झन्डै एक किलोमिटर क्षेत्रमा तीव्र खोजबिन गरिएको थियो ।
खोजी अभियान दुधौरा खोलाको पुलदेखि फेटा गाउँपालिका–१ त्रिवेणीको झुलेङ्गे पुल, त्रिवेणीको नहर पुल, विश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म सञ्चालन गरिएको थियो ।